यसरी भयो तरकारी अनुगमनमा गएको टोलीमाथि आक्रमण

यसरी भयो तरकारी अनुगमनमा गएको टोलीमाथि आक्रमण

आषाढ २२, २०७३

अनुगमनमा गएको सरकारी टोलीमाथि बल्खु तरकारी बजारका व्यापारीले मंगलबार हातपात गरेका छन् । डिजिटल तराजु नवीकरण नगरेको, प्रमाणित नगरेको र कम तौल दिएर उपभोक्ता ठगेको भन्दै कर्मचारीले तराजु जफत गरेपछि हातपात गरेका हुन् । व्यापारीले बन्दा, काँक्रो, मूलालगायतका तरकारीले आक्रमणसमेत गरेका थिए ।

व्यापारीको घेराबन्दीमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निरीक्षक रामचन्द्र काफ्ले र गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका निरीक्षक कमल ओझा परेका थिए । काफ्लेलाई व्यापारीले हात छोडेका थिए भने ओझालाई ताकेर तरकारीले झटारो हानेका थिए । सँगै गएका दुई प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि थप बल मगाइएको थियो ।

यसरी भयो घटना
बिहान साढे १० बजे अनुगमन टोली बल्खुस्थित थोक तरकारी बजार पुगेको थियो । थोक बजार चार वर्षअघि सञ्चालनमा आएको हो भने करिब एक वर्षदेखि खुद्रा विक्रीका लागि नयाँ स्टल सञ्चालनमा छन् । पुरानो स्टल निरीक्षणका क्रममा चित्तबुझ्दो सफाइ देखेपछि कर्मचारी फर्कने थालेका थिए । फर्कंनै लाग्दा गुणस्तर विभागका निरीक्षक कमल ओझाले डिजिटल तराजुमा गढबढी देखिएको भन्दै अनुगमन टोलीका सबै सदस्यलाई जानकारी गराएपछि व्यापारीसँग सोधिखोजी भएको थियो ।

तराजुको पछाडि निर्माता कम्पनीको स्टिकर नदेखेपछि तराजु प्रमाणित भए–नभएको र नवीकरण गरे–नगरेको कागजात ल्याउन अनुगमन टोलीले व्यापारीलाई निर्देशन दिएका थिए । तराजुको प्रमाणित कागजात नभए जफत गरी लैजाने र नापतौल प्रमाणित गरी पठाइदिने ओझाले बताए । सो क्रममा आपूर्ति विभागका निरीक्षक रामचन्द्र काफ्ले एउटा स्टलमा स्टिकर नभएको तराजु फेला पारे । स्टलबारे जानकारी माग्दा कसैले नबताएपछि तराजु जफत भयो । अर्को त्यस्तै तराजु जफत गर्न लाग्दा एक व्यापारीले नलैजान आग्रह गरे ।

तर, ओझाले प्रमाणित नगरी चलाएको तराजु छाड्न नमिल्ने बताए । व्यपारीले जवाफ फर्काए, ‘तराजु लाने नै भए तरकारीको रिस्क पनि लिइदिनुप¥यो ।’ सोही क्रममा कपाल पालेका एक व्यापारी आएर प्रतिकार गर्न निर्देशन दिए । त्यसपछि एक दर्जन व्यापारीले हल्ला गर्दै बन्दा, मुलालगायतले कर्मचारीलाई झटारो हानेका थिए । कर्मचारी स्लटबाहिर पुगेपछि व्यापारीले घेरेर हातपात गरेका थिए । करिब १० मिनेट कर्मचारीलाई घेरेर गाली गर्दै जफत गरिएका तराजु फिर्ता लगेका थिए ।
-नयाँ पत्रिका दैनिकबाट

 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे