कांग्रेसकाे एमालेलाई प्रतिपक्षमा राख्न पाए ‘साइज’ मा ल्याउन सकिन्ने दाउ

कांग्रेसकाे एमालेलाई प्रतिपक्षमा राख्न पाए ‘साइज’ मा ल्याउन सकिन्ने दाउ

आषाढ २२, २०७३

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गर्ने प्रारम्भिक चर्चामा त्यति चासो देखाइरहेका छैनन्, जति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनीनिकट नेताहरूमा देखिएको छ ।

दुई महिनाअघि पार्टी सभापति र संसदीय दलको नेतामा निर्वाचित भएको रापतापकै बेला ओली सरकार विस्थापित गर्न देउवाले तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री स्वीकार गरेरै अघि बढेका थिए । प्रधानमन्त्री बन्न पार्टी निर्णय लिई अघि बढिसकेका दाहालले अन्तिम अवस्थामा ‘धोका’ दिएको भन्दै देउवा यसपटक त्यही ‘अपरिपक्व खेल’ नदोहोरियोस् भन्नेमा सचेत छन् । त्यसैले ओलीको विकल्प खोज्न माओवादी केन्द्रका नेताहरूले राखेको प्रस्तावमा देउवाको ‘तयारी’ जवाफ छ, ‘पहिले सरकार ढालेर आउनुस्, सरकारबाट नबाहिरिएसम्म माओवादीलाई पत्याउन सकिन्न ।’

प्रधानमन्त्री ओलीले दुई महिनाअघि आफ्नो नेतृत्वको सरकार टिकाउन सत्ता गठबन्धनकै प्रमुख घटक माओवादीसँग ९ बुँदे सम्झौता गरेका थिए । बजेट पारित भएपछि एमालेकै समर्थनमा दाहाललाई प्रधानमन्त्री बनाउने भद्र सहमति त्यसैबेला भएको दाबी माओवादी र एमालेकै कतिपय नेताहरूले चर्चा गर्दै आएका छन् । त्यही सहमतिको कार्यान्वयनमा ढिलाइ भइरहेकामा माओवादीभित्र असन्तुष्टि चुलिए पनि सरकार परिवर्तनको चर्चालाई कांग्रेसले भने पत्याइहालेको छैन ।

‘कांग्रेससँग सरकार परिवर्तनका विषयमा छलफल गरेर एमालेसँग बार्गेनिङ गरिरहेको हुन सक्छ,’ कांग्रेसका एक उच्च नेताले भने, ‘वामपन्थी गठबन्धनकै सरकार बनाउने या गैरवामपन्थी समीकरण बनाउने भन्ने द्विविधामा माओवादी देखिन्छ ।’

ती नेताका अनुसार माओवादीको पहिलो प्राथमिकता एमालेकै समर्थनमा दाहाल नेतृत्वमा सरकार बनाउनु छ । त्यसैले अहिल्यै कांग्रेस अघि सर्दा अघिल्लो गल्ती नै दोहोरिन सक्छ । सरकारको नेतृत्व लिएको एमालेको ठूलो तप्कासमेत वर्तमान गठबन्धन कायमै राखेर दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा छ । ‘यस्तो अवस्थामा माओवादीको औपचारिक निर्णय नगरी कांग्रेस अघि सर्नुको कुनै अर्थ छैन,’ ती नेताको भनाइ छ ।

भित्री चाहना के हो रु
कांग्रेस स्वाभाविक रूपमा ओली नेतृत्वको सरकार विस्थापित गर्ने उपयुक्त अवसरको पर्खाइमा छ । अघिल्लोपटक ‘धोका’ खाए पनि ओली सरकार विस्थापित गर्न कांग्रेस माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री स्विकार्न भित्रैदेखि तयार छ । दाहाल दुई ठूला दल कांग्रेस र एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने प्रयासमा छन् । तर, कांग्रेस त्यसका लागि तयार छैन । माओवादी, मधेस केन्द्रित दल र केही साना दलहरूलाई सामेल गरेर सरकार बनाउने तर एमालेलाई प्रतिपक्षमा राख्ने रणनीतिमा कांग्रेस छ । मधेस केन्द्रित दल ओली सरकारको बहिर्गमनमा सहभागी भए पनि तत्काल सरकारमा आउने सम्भावना छैन । त्यस्तो अवस्थामा कांग्रेस, माओवादी, राप्रपासहितको गठबन्धन बनाउनुपर्नेमा कांग्रेस छ । तर, माओवादीले सरकारबाट बाहिरिएको औपचारिक निर्णय नलिएसम्म कांग्रेस सरकार परिवर्तनको दृश्यमा देखिन तयार छैन ।

कांग्रेस नेता विमलेन्द्र निधि अघिल्लो घटनातर्फ संकेत गर्दै माओवादीले सरकार परिवर्तनको चर्चा चलाइरहे पनि वर्तमान सरकार अल्पमतमा नपरेसम्म कांग्रेसले कसैसँग छलफल नगर्ने बताउँछन् । सरकार परिवर्तनको विषयमा आफूहरूले कसैसँग छलफल नगरेको उनको दाबी छ । ‘माओवादी सरकारबाट बाहिर नआएसम्म हामी छलफल गर्न पनि चाहन्नौं,’ उनले भने ।
कांग्रेसको मुख्य ध्येय वामपन्थी गठबन्धन टुटाएर एमालेलाई प्रतिपक्षमा राख्ने हो । दुई ठूला दलमध्ये एक प्रतिपक्षमा बस्दा प्राकृतिक हुने र संसदको गरिमा पनि बढ्ने बाहिरी तर्क उसको छ । तर, भित्री दाउ निर्वाचनका बेला एमालेलाई प्रतिपक्षमा राख्न सकिए ‘साइज’ मा ल्याउन सकिन्छ भन्ने छ । त्यसका लागि निर्वाचनअघि दुई चरणका सरकार बनाउनुपर्ने पक्षमा कांग्रेस छ– पहिलो चरणमा दाहाल प्रधानमन्त्री र चुनाव गराउने गरी दोस्रो चरणको प्रधानमन्त्री देउवा । यसअघि कांग्रेस र तत्कालीन एमाओवादीबीच बन्न लागेको समझदारीको मस्यौदामा पनि पहिलो चरणमा दाहाल र दोस्रो चरणमा देउवा नेतृत्वमा सरकार बनाउने नै उल्लेख थियो ।

यसपटक पनि त्यही समझदारीलाई अघि बढाउन कांग्रेस भित्री रूपमा तयार छ । तर, अघिल्लो घटनाक्रमका कारण दुई दलबीचको अविश्वास हट्न सकेको छैन । ‘दाहालले एउटा खुट्टा एमालेतिर र अर्को खुट्टा कांग्रेसतिर राखेका छन् । यस्तो अवस्थामा कसरी विश्वास गर्ने रु’ देउवानिकट एक नेताले भने, ‘जुन दिन माओवादी सरकारबाट बाहिरिन्छ, त्यसै दिन दाहाललाई समर्थन दिन सकिन्छ ।’

कांग्रेस नेता प्रकाशशरण महतले पनि निधिले जस्तै सरकार परिवर्तनका विषयमा छलफल नगरेको दाबी गरे । ‘जुन दिन सरकार अल्पमतमा पर्छ, त्यसै दिनदेखि छलफल अघि बढ्छ,’ महतले भने, ‘बहुमत समर्थन हुँदासम्म चर्चा मात्रै गर्नुको कुनै अर्थ छैन ।’

कान्तिपुर दैनिकबाट
 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे