मान्छेहरु सुटिङकै झमकलाई साँच्चैको सम्झेर झुक्किए

मान्छेहरु सुटिङकै झमकलाई साँच्चैको सम्झेर झुक्किए

२०७३ असार २१

काठमाडौं। छ महिनाअघि रोजिता बुद्धाचार्यले छँदाखाँदाको सुन्दर कपाल खौरेर टाउको मुडुलो पारिन् । घरमा बुवा र दिदीहरुको गाली खाइने पक्का थियो । तर, जाडो महिनाको फाइदा ! ख्याप्प टोपी लगाएर घर गइन् ।

लुकाएर कतिन्जेल पो लुक्थ्यो ! थाहा पाएपछि घरका सबैले सातो लिए । उनलाई भने यसले कुनै असर गरेन ।

नाटक ‘मालिनी‘ मा अभिनय गर्न उनले आफ्नै खुसीले टाउको चिन्डे पारेकी थिइन् । रवीन्द्रनाथ टैगोरको कथामा आधारित भएर रंगकर्मी विमल सुवेदीले तयार पारेको नाटकमा डुबेपछि आफ्नो बाहिरी सौन्दर्य उनलाई फिका लाग्यो ।

बौद्ध दर्शनबाट प्रभावित रोजितालाई कपाल ‘समस्या‘ र दुःखको कारण लाग्छ । कोरिराख्नु,स्याहार गरिराख्नुपर्ने । छोरा मान्छेको लोभी नजर पर्ने । समग्रमा तृष्णाको केन्द्रविन्दु ।

नाटकको पात्रको नजरबाट हेर्दा सौन्दर्यको परिभाषा फरक देखिन् । त्यस क्रममा कपाल नै फाल्दिनेसम्मको त्यो हर्कतले रंगकर्मप्रति उनको गहिरो लगाव देखाउँछ ।

खासमा झमक घिमिरेको आत्मकथा ‘जीवन काँडा कि फूल‘ माथि बन्ने सोही नामको फिल्ममा रोजिता झमकको भूमिकामा छानिएकी थिइन् । यसका लागि आफ्नो मौलिक स्वरुपबाट निस्किएर फरक चरित्रका लागि तयार हुनु जरुरी थियो ।

सो क्रममा ‘मालिनी‘ नाटक उनलाई फिल्मका लागि तयार पार्ने पहिलो चरण मात्रै थियो ।

***

रोजिता थिएटर भिलेज लाजिम्पाटमा नाटक सिक्ने पहिलो ब्याचको उत्पादन हुन् । चार वर्षअघि कोर्स पूरा गरेयता ‘चारुमती‘ र ‘मालिनी‘ का साथै अन्य तीनवटा अंग्रेजी नाटकमा अभिनय गरिसकिन् ।

तर, झमकको जीवनकथामा बनाइएको ‘जीवन काँडा कि फूल‘ फिल्ममा पाएको शीर्ष भूमिकालाई जीवनकै ठूलो अवसर र चुनौती मान्छिन् ।

जन्मजात मस्तिष्क पक्षघातबाट पीडित झमक हिंडडुल गर्न र हातहरु चलाउन सक्दिनन् । तर यस विपरीत रोजिताको शारीरिक अवस्था सामान्य छ । आफू शारीरिक रुपमा सबल भए पनि त्यसलाई खुम्च्याएर आफ्नै प्रतिभाको परीक्षा लिन उनलाई के ले ऊर्जा दियो होला ?

‘उहाँको आत्मकथा पढेपछि जीवनमा केही उपाय नहुँदा पनि झमक दिदीले कसरी आफूमा परिवर्तन ल्याउने हिम्मत जुटाउनुभयो भनेर म त चकित नै परेँ,’ २३ वर्षे कलाकारले भनिन् – ‘उहाँले सबै अप्ठेरो र चुनौती पार गर्दै आफ्नै चिनारी बनाउनुभयो । सिकाउने कोही नहुँदा पनि घरमा बहिनीले पढेको लुकि-चोरी हेर्दै आफैंले पढ्न-लेख्न सिक्नुभयो ।

त्यो संघर्षशील व्यक्तित्वलाई दुनियाँसामु पुर्याहउँदै अरुलाई पनि प्रेरणा मिलोस् भनेर म तयार भएँ ।‘

तर, जसरी फिल्मको निर्माण पक्षसँगको पहिलो भेटमै ‘म सक्छु‘ भनेर प्रतिबद्धता जनाएकी थिइन्, त्यसअनुसार आफूलाई झमकको चरित्रमा ढाल्न उनलाई त्यति सजिलो भने थिएन ।

***

दुई वर्षअघि फिल्मका निर्देशक विनोद विष्ट, लेखक मुक्ति उपाध्यायसहितको निर्माण टोलीले थिएटर भिलेजमै पुगेर रोजितालाई झमक बन्न प्रस्ताव गर्यो । उनले त्यसका लागि पछि गर्नुपर्ने तयारीबारे नसोची ‘हुन्छ‘ भनिन् ।

उपन्यासहरु पढिरहने उनले त्यसअघि नै सामान्य पाठकका रुपमा झमकको आत्मकथा पढिसकेकी थिइन् । अब अभिनय नै गर्नुपर्ने भएपछि त्यसलाई दायित्व मान्दै थप गहिरिएर अनेकौंपटक पढिन् । पढ्ने क्रममा झमकले किन त्यस्तो लेखिन्, लेखिरहँदा त्यो अवस्थामा के सोचिन् होला भनेर महसुस गरिन् ।

झमकलाई बुझ्न उनीबारे बनाइएका अनेकौं वृत्तचित्र र पाएसम्मका भिडियो फुटेज पनि हेरिन् उनले । कसरी हेर्छिन्, कसरी हाँस्छिन् भन्ने स-साना कुरा समेत नियालिन् ।

Jhamak Ghimire (1)झमकको घरमा अभिनयका क्रममा रोजिता
तर, आफैंमा गुमसुम बस्ने लजालु केटी थिइन् रोजिता । जसले जे भने पनि नाइँ भनेर फरक मत राख्न नसक्ने । त्यस्तो अवस्थामा झमक चरित्रलाई आफूभित्र ल्याउन पहिले त उनले आफूभित्र जकडिएर बसेका आनीबानी र पुराना मान्यतालाई भत्काउँदै खुल्नु जरुरी थियो । अरु बन्न आफूलाई मेट्नु थियो ।

उनले कडा तालिम सुरु गर्नुपर्ने भयो । आफ्नै नाटकघरको विद्यार्थीले फिल्म गर्ने भनेपछि थिएटर भिलेजका विमल सुवेदी प्रशिक्षण र पथ प्रदर्शनका लागि कस्सिए ।

शरीरको तौलबाट सुरु भयो ‘टास्क‘ । झमक जत्तिकै देखिन ५१ किलोको ज्यानलाई ५३ किलोको बनाइन् ।

उनी गणेश भगवान्‌लाई औधि मान्छिन् । अर्कातिर गुरु र अग्रजहरुलाई आदर गर्नु संस्कार नै भइहाल्यो । तर, अन्तर्मुखी स्वभावलाई भत्काउन उनले आफ्नो आस्था र संस्कार सबै धूलोपिठो पार्नुपर्ने भयो । त्यसलाई ढुंगा वा मूढा जस्तो वस्तु मात्र सम्झनुपर्ने भयो । अभ्यास अघि बढ्यो ।

उनलाई ‘टास्क‘ दिइयो – गणेशको मूर्तिलाई लात्ताले हान्ने । गुरुलाई झापड चखाउने ।

यति गर्न उनलाई हप्ता-दस दिन हैन, महिनौं लाग्यो ।

यसपछि झमकले जस्तै देब्रे खुट्टाले लेख्ने लगायतका अन्य काम गर्नमा पारंगत हुनुपर्ने काम सुरु भयो ।

रोजिता सम्झिन्छिन् – ‘केही वस्तु समात्ने अभ्यास थाल्नुअघि खुट्टाका औंला फट्याउने अवस्थामा पुग्नु नै मलाई महाभारत थियो ।‘ खुट्टाको अभ्यासमा पुग्नुअघि उनले हातबाटै बानी बसाउन थालिन् । दायाँ हात चलाउने उनले बायाँ हात बढी प्रयोगमा ल्याइन् ।

देब्रे खुट्टाले तालिम थालेपछि कलम समात्न, बिर्को खोल्न, कापी पल्टाउन सयौं पटक प्रयास गरिन् । यस्तोमा फतक्क गल्थिन् ।

अभ्यास क्रममा झमकको जीवनका केही अंश बाँचिरहँदा झमकको सिंगो पीडा उनले बोध गर्दै गइन् । अहो, कुन कष्ट र अनुभूतिबाट गुज्रँदै यत्रो संघर्ष गर्ने साहस गरिछन् दिदीले ! यही सोचले उनलाई ऊर्जाको काम गर्‍यो ।

त्यो दिन पनि आयो ।

रोजितालाई आज जसरी पनि लेख्न सक्नुपर्छ मैले भन्ने संकल्पले उकास्यो ।

बाहिर भेटघाटमा निस्किएकी उनी सुर्रिंदै घर पुगेर कोठामा चुकुल ठोकेर बसिन् । झमक जस्तै निकै सकसले कुप्रो परिन् । बाटुला आकारहरुमा खुट्टाका औंला नचाउँदै हावामा अभिव्यक्ति खोजिन् । बडो मुस्किलले लेख्न सकिन् – ‘झमक घिमिरे‘ ।

खुट्टाले पहिलो अक्षर लेख्नुको खुसी शालीन मुस्कानसहित सुनाइन् – ‘दिदीले आत्मकथाको पुस्तकमा पहिलो पानामा आफ्नै नाम लेख्नुभएको छ । मैले सिकाइ प्रकिया त्यही नामबाट थालेँ ।‘

उनले केही सजिलो हुने भएर नाम भने अंग्रेजीमा लेखेकी थिइन् ।

त्यसपछि खुट्टाले खान सिक्ने अभिभारा । अभ्यासको सातौं महिनामा गुरु विमलले उनीसामु प्लेटमा अन्डा-चिउरा राखिदिए । उनले छर्दै भए पनि खाइन् ।

‘विमल सरलाई पनि मैले खुट्टाले नै खाजा ख्वाएँ । त्यो पल बयान गर्न नसकिने एकदम खुसीको थियो,’ खित्का छाड्दै सुनाइन् ।

पक्षघातका कारण झमकको शरीरमा नियन्त्रण छैन । बेला-बेला मुखबाट र्‍याल चुहाइराख्छिन् । त्यो अभ्यास गर्न पनि रोजिताले निकै पापड बेल्नुपर्‍यो ।

चिनी, अमिलो पाउँ मुखमा जम्मा पारेर र्‍याल चुहाउने कोसिस भइरह्यो । अभ्यस्त भएपछि कुनै खानेकुराको सहाराबिनै ओठ बगिरह्यो ।

***

झमकको चरित्रमा आफूलाई ढाल्दै जाँदा रोजिता बीचबीचमा जोसिन्थिन् गुरु विमलसामु ।

‘झमकको जस्तै हाउभाउ गरुँ ? झमकले जस्तै गुडुल्किएर सुतूँ ?’

तर विमलले अनुमति दिएनन् । अंश-अंश गर्दै एकपछि अर्को चरण पार गरेर मात्र झमकको हाउभाउ र प्रस्तुतिमा पुग्नुपर्ने उनको सिर्जनात्मक रोडम्याप थियो । यसले उनीमा काम गरिरहेको गुरुले नियालिरहेका थिए ।

साढे एक वर्षको अभ्यासका क्रममा फिल्म निर्माण युनिटले पनि उनीमा आएको प्रगति पारख गर्दै थियो । रोजिताको आत्मविश्वास र लगनले दुरुस्तै दोस्री झमक तयार हुँदै थिइन् ।

राति सुत्दा पनि उनी झमकलाई नै देख्थिन् । तर यो भन्दा फरक उनले आफूलाई झमक नै मानेर सुत्दा हुने अनुभूति सुनाउनुपर्ने अर्को टास्क‘ पाइन् । हरेक राति देख्ने सपना र खेप्ने भोगाइ भोलिपल्ट गुरुलाई सुनाउनु पर्थ्यो । सुनाउँदै गइन् ।

गुरुले भएन, फेक भयो भन्दै टार्दै गए । उनी गहिराइमा पुग्न बाँकी नै थियो ।

एक रात उनी झमक पात्रमा डुबेर सुतिरहँदा उकुसमुकुस, बेचैनी र अत्यासले ऐंठन नै भयो । रातको एक बजे ब्यूँझिएर कहालिएर रोइन् । ‘त्यसपछि त्यो पात्रको भोगाइ यस्तो भो भनेर मैले गुरुलाई सुनाइराख्नै परेन ।‘ उनले पीडाको चरम उँचाइमा झमकको जिन्दगी छामेको अनुभूति सुनाइन् ।

***

अध्ययनका क्रममा वृत्तचित्रहरुमा झमकको हाउभाउ ख्याल गर्दै आए पनि उनीसँग रोजिताले एक वर्षअघि मात्रै देखभेट गरिन् । गत चैतको दोस्रो साता फिल्मको शुभमुहूर्त थालिनु एक साताअघि नै उनी धनकुटा ३ कचिडे गाउँ पुगिन् । झमकलाई प्रत्यक्ष रुपमा भेटेर नजिकबाट बुझ्नु थियो । चिनजान गर्ने इच्छा पनि छँदै थियो ।

पहिलो चोटि नजिकबाट भेट्दा कस्तो लाग्यो त झमक उनलाई ?

‘एकदम फरासिलो । स्पष्ट । उहाँ आफूलाई जे लाग्यो त्यही भाव खुलेर व्यक्त गर्नुहुन्छ,’उनले व्यक्तित्व केलाइन् – ‘त्यसैलाई हेरेर कतिले दिदीलाई मुडी र सन्की पनि ठान्छन् । तर त्यसमा स्पष्टता देखेँ मैले । उहाँ जस्तो मान्छे छ, त्यस्तै व्यवहार गर्नुहुँदो रैछ ।‘

त्यसपछि उनले सुटिङ सुरु हुनुअघिको एक सातासम्म झमकको आनीबानी र समग्र व्यक्तित्व नजिकबाट अध्ययन गरिन् । दुवैको ट्युनिङ मिल्यो । छिटै घुलमिल भए ।

त्यस क्रममा फिल्ममा झमकको चरित्रमा अभिनय गर्न आफू योग्य पात्र हो/होइन भनेर झमकबाटै प्रतिक्रिया के आउला भन्ने पनि उनको परीक्षाकै विषय थियो ।

सरसंगत बढ्दै जाँदा झमकले आफ्नै हिसाबबाट रोजितालाई जाँचिन् ।

‘म तपाईंको चरित्रमा फिल्ममा देखिंदै छु‘ भनेर पहिलो पटक भन्दा झमकले ‘हेरुम्ला‘ भनेर परीक्षा बाँकी नै रहेको जनाउ दिइन् ।

रोजिताको क्षमता बुझ्दै जाँदा ‘कोसिस गर‘ भनेर सम्भावनातर्फ संकेत गरिन् । त्यसपछिको चरणमा मात्र ‘तिम्ले गर्न सक्छौ‘ भनेर बल्ल अनुमोदन गरिदिइन् ।

उनलाई आफू अयोग्य र अस्वीकृत हुँला भनेर मनको कुनै कुनामा पनि छँदै थिएन । भनिन् ‘म त पूरा तयारी गरेर मैदानमा उत्रेको थिएँ ।‘

चैतको दोस्रो साता फिल्मको शुभमुहूर्तको दिन उनी ब्वाइज कट कपालमा झमकसँग दाँजिनलाई तम्तयार थिइन् ।

झमकको घर । आँगनमा झमक बहिनी मीनालाई ‘मुनामदन‘ किताब किनेर ल्याउन अह्राइरहेकी छिन् । छेउछाउमा गाउँलेहरु दिदी-बहिनीबीचको बातचित उदेक मानेर हेरिरहेका छन् ।

गुजुल्टो परेर लेखिरहेकी झमक यत्तिकैमा उठ्छिन् ।

वरिपरिका रमितेहरु आश्चर्यमा मुखामुख गर्छन् । उभिन र हिंडडुल गर्न नसक्ने झमक कसरी उठ्न सकिन् ! कुन चमत्कारले हिंडिन् ! फिल्मको शुभमुहूर्तको दिन थियो त्यो । दृश्यमा थिइन् झमकको चरित्रमा भिजेकी रोजिता । अलिक पर कुनामा झमक आमासँग लपक्क टाँसिएर सुटिङ हेरिरहेकी थिइन् ।

मान्छेहरु सुटिङकै झमकलाई साँच्चैको सम्झेर झुक्किएका थिए ।

मान्छेहरुको प्रतिक्रिया र त्यस बेलाको अवस्थाले के भाव आयो खै । रोजिताको दिमाग शून्य भयो । उनका आँखा एकाएक रसाए । वातावरण भावुक बन्यो ।

केहीबेरमै उनी झमककी आमा र झमकलाई अंकमाल गर्दै भक्कानिएर रोइन् । डेढ वर्षमै आमा गुमाएकी रोजिताले त्यो अँगालोमा सायद बेग्लै आत्मीयता भेटिन् र त्यसले पगाल्यो ।

धरानको घोपा क्याम्पमा सुटिङका लागि ह्विलचेयरमा जाँदा पनि मान्छेहरु साँच्चैको झमक आएको भन्ठानेर झुक्किएको उनी सुनाउँछिन् ।

‘साढे एक वर्षको अभ्यास र झमक दिदीसँगको सरसंगतले म क्यारेक्टरबाट निस्किनै नसक्ने गरी विकसित भइसकेको थिएँ,’ उनले भनिन् । पहिले आफ्नो कुरा अभिव्यक्त गर्न नसक्ने उनी अहिले आफ्नो जीवन नै परिवर्तन भएको पाउँछिन् । पहिले नाइँनास्ती र फरक मत नराख्ने उनी अहिले तर्कमा उत्रिन्छिन् ।

यो सबै परिवर्तन आउनुमा ‘जीवन काँडा कि फूल‘ फिल्मकै लागि गरेको कडा अभ्यास र विमल गुरुको देन मान्छिन् उनी ।

उनले आफ्नो भागको सुटिङ सकिसकेकी छन् । फिल्मको अन्तिम सिन मात्र खिच्न बाँकी छ । ठूली झमकको चरित्रमा रोजिता रहे पनि झमक सानो छँदाको रोलमा भने सिलिगुडीकी अवस्था थापा देखिनेछिन् ।

***

थिएटरमा चार वर्षको छोटो करिअर गुजार्दा उनले दर्शकमाझ नोटिस भएर चर्चा कमाएकी छन् । उमेरभन्दा बढी परिपक्वता आफूमा सँगालेकी छिन् । उनी सुनाउँछिन् – ‘सानोमा चञ्चल भए पनि अलिक फरक थिएँ रे म । बौद्ध शिक्षा पाएका कारण पनि ममा गम्भीरता र शालीनता आएको होला ।‘

बौद्ध विहारमा परियत्ति शिक्षा पाँच कक्षासम्म पढेकी उनले त्यसबेला बुद्धकालीन कथा, बुद्धको जीवनी, दर्शन सरल भाषामा पढ्न पाइन् । त्यसले जीवनलाई हेर्ने दृष्टिकोण बदल्यो । जीवन हर समय परिवर्तन भइरहने गुह्य जानिन् । समाज आफैंमा नराम्रो छैन, मान्छेले आफ्नो स्वार्थअनुसार यसलाई चलाउँदा खजमजिन्छ भनेर बुझिन् ।

बौद्ध शिक्षाले देखाएको बाटो एकातिर छ भने नाटकप्रतिको मोहले उनलाई जीवनमा रङ थपिदिएको छ । औपचारिक अध्ययनमा भने विज्ञान जस्तो रुखो विषय छानेकी छन् । अमृत साइन्स क्याम्पसमा एमएस्सी गर्दै छिन् । कीर्तिपुरस्थित वीपी कोइराला मेमोरिल प्लानेटरियमम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिमा मिडिया अफिसरका रुपमा काम गर्छिन् । त्यहीँबाट नेपाल टेलिभिजनबाट प्रसारण हुने गरी पाक्षिक कार्यक्रम‘आजको विज्ञान‘ उत्पादन गर्छिन् ।

नाट्य सम्राट् बालकृष्ण समले ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ‘ भने पनि उनी भने विज्ञानलाई पनि जीवन जत्तिकै रसिलो पाउँछिन् । ‘खगोल विज्ञान‘ उनको स्नातकोत्तरको विषय । यसबाट उनले प्रकृतिलाई नजिकबाट बुझ्न पाएकी छिन् । बाह्य वस्तु हेरेर रोमाञ्चित हुन्छिन् । नाटकमा अभिनय गर्दा भने उनी आफैंतिर फर्किरहेको हुन्छिन् । भन्छिन् ‘मञ्चमा उत्रिँदा आध्यात्मिक भाव जस्तो उर्लिन्छ मनमा । आफूलाई बुझ्न सक्छु ।

‘जीवन काँडा कि फूल‘ का लागि आफ्नै जीवन चुँडेर अरुको पाउमा चढाएकी यी नायिकालाई जीवन के लाग्दो हो ? काँडा कि फूल ?

‘काँडासहितको फूल । गुलाफ जस्तै !’ उन्मुक्त हाँसिन् । 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे