सञ्जीव उप्रेतीसँग ‘पागल’ संवादः ‘कुनै मान्छेको वैधानिकता ध्वस्त पार्नु छ भने पागल भनिदिँदा सजिलो हुन्छ’

सञ्जीव उप्रेतीसँग ‘पागल’ संवादः ‘कुनै मान्छेको वैधानिकता ध्वस्त पार्नु छ भने पागल भनिदिँदा सजिलो हुन्छ’

१७ असार, काठमाडौं ।

सफलता/असफलताको परवाह नगरी कुनै काममा एकोहोरिएर लाग्नेहरुप्रति समाजले हेर्ने नजर बेग्लै हुन्छ । मुडीदेखि पागलसम्मको उपमा उसले पाउँछ ।

पछिल्लो समय चिकित्सा शिक्षा ऐनमा सुधारको माग गर्दै निरन्तर खबरदारी गर्दै आएका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीमाथि अख्तियारबाटै ‘पागल’ आरोप लगाइयो ।

डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई महाअभियोग लगायतका चारबुँदे माग राख्दै अनशन घोषणा गरेपछि अख्तियारले विज्ञप्ति नै निकालेर उनको ‘मानसिक उपचार’ गर्न सरकारसँग आग्रह गर्‍यो ।

विगतमा प्रचण्ड नेतृत्वको ३३ दलीय मोर्चाले एमाले अध्यक्ष केपी ओलीमाथि पनि यस्तै आरोप लगाउँदै मानसिक उपचारको माग गरेको थियो ।

यसैसन्दर्भमा देशको विसंगतिबाट विचलित अवस्थामा पुगेको एक कथित पागलको मनोदशाबारे एक समय ‘घनचक्कर’ नामक उपन्यास प्रकाशन गरेका डा. सञ्जीव उप्रेतीसँग  गरेको ‘पागल’ संवाद :

तपाईंको विचारमा पागलपन के हो ?

पागलपनको एउटै व्याख्या छैन । सिग्मन्ड फ्रायडको सिद्धान्तअनुसार अतृप्त यौन इच्छाले गर्दा मान्छे पागल हुन्छ । दार्शनिक मिसेल फुकोका अनुसार पागलपन सामाजिक रुपले निर्मित हुन्छ । समाजले यो-यो कुरा सामान्य हो भनेर कोरेको परिभाषाभित्र परेन र अँटाएन भने त्यो मान्छेलाई पागल ठहर्‍याइन्छ । म फुकोको विचारसँग नजिक छु । संसारमा कुनै पनि समाज पूर्णरुपमा सभ्य र सद्दे छैन । समाज सभ्य /सद्दे भएको भए सामाजिक न्यायका लागि यतिविघ्न संघर्ष गर्नुपर्दैन थियो होला । यसैले मानवीयता, मानव चेतनाको दृष्टिले निकै फड्को मार्नुपर्छ हामीले ।

तपाईंले कस्ता-कस्ता पागल देख्नुभएको छ ? संगत पनि गरियो कि ?

अमेरिकाको न्यु ह्यामसाइर राज्यमा पुग्दा पागलहरु देखेँ मैले । उनीहरुलाई छुट्टै नराखी समाजमै राखिएको थियो । धेरै नेपाली दाजुभाइहरु त्यहाँ पागलको हेरचाहमा काम गरिरहेको पनि भेटेँ । त्यहाँ पागलहरुको त संघ पनि रैछ । त्यसको कोषाध्यक्षको दाबी थियो – म हिसाब किताब दुरुस्त राख्ने भएकाले पागलहरुमा पनि विशिष्ट कोटीको हुँ ।

घनचक्कर उपन्यासको पात्रसँग तपाईंको वास्तविक जीवनको के सम्बन्ध छ ?

केही त सम्बन्ध पक्कै छ । केही आफैंभित्रका कुरा अचेतन रुपमा आएका छन् । कल्पनाको अंश पनि जोडिएको छ । उपन्यासको पात्रसँग केही हदसम्म समानता छ मेरो । त्यो पागल पात्र जस्तै म पनि मान्छेहरुको भिडमा त्यति रमाउन सक्दिनँ । प्रकृति र एकान्त रुचाउँछु ।

कहिलेकाहीँ बाइक लिएर काठमाडौं नजिकै नागार्जुन, टौदह, ककनी जस्ता प्राकृतिक ठाउँ पुग्छु । एक्लै रमाउँछु । एक सय प्रतिशत सद्दे त कोही पनि हुँदैन । यदि कोही सय प्रतिशत सद्दे छ भने त्यो पनि आफैंमा पागलपन हो ।

उपन्यासका लागि के-कस्तो अध्ययन गर्नुभएको थियो ?

अमेरिकामा देखे-भेटेका पागलहरु पनि अध्ययनका विषय बने । यस्तै पागलपन सम्बन्धी लेखिएका इतिहास पनि पढेँ । आफैंभित्रको मानसिक घटनाक्रमले पनि लेख्न सघायो । जीवनको चौबीसै घन्टा तार्किक भएर बाँच्न सकिँदैन । यसको लागि आफैंभित्र हेरे पनि हुन्छ ।

तपाईंको विचारमा समाजका वास्तविक पागलहरु को हुन् ?

पागलपनलाई कसले परिभाषित गर्छ भन्ने कुरामा निर्भर गर्छ त्यो कुरा । सिस्टम र नियम पढाउन खोज्नेहरुमा पनि समस्या देखिन्छ । मान्छे स्वभावैले स्वतन्त्रता र नयाँपन रुचाउँछ । तर सामाजिक बन्धन र परिभाषाहरुले उसलाई पागलपनतिर उन्मुख गराउँछ ।

गोविन्द केसीलाई अख्तियारले पागल संज्ञा दिएको कस्तो लाग्यो ?

समाजका कुनै वर्ग वा समूहको निहीत स्वार्थमाथि हाँक दिने मान्छेलाई छेउ लगाउन दिमाग खुस्केको भनेर पन्छाउने प्रवृत्ति छ । कुनै मान्छेको वैधानिकता र तर्कलाई ध्वस्त पार्नु छ भने पागल भनिदियो भने सजिलो हुन्छ

यो विषयको भित्री पाटो थाहा नभएकाले के कारणले यस्तो कुरा आयो भन्नेमा अनभिज्ञ छु म । तर, म गोविन्द केसीको अभियानमा समर्थन गर्छु । म पनि मेडिकल डाक्टरकै छोरा हुँ । मेडिकल फिल्डको सेवाभावलाई आदर्श मान्छु । यस क्षेत्रको व्यापारीकरणमा चित्त बुझ्दैन । डा. केसी पनि यसैको लागि लडिरहनुभएको छ ।

समाज राम्रो होस् भनेर लागिपर्ने मान्छे कुनै खास व्यक्ति/समूहको नजरमा पागल बन्ने अवस्था कसरी आउँछ ?

समाजका कुनै वर्ग वा समूहको निहीत स्वार्थमाथि हाँक दिने मान्छेलाई छेउ लगाउन दिमाग खुस्केको भनेर पन्छाउने प्रवृत्ति छ । कुनै मान्छेको वैधानिकता र तर्कलाई ध्वस्त पार्नु छ भने पागल भनिदियो भने सजिलो हुन्छ । डा. केसी यसैको सिकार भएका हुन् जस्तो लाग्छ । पागलपन व्यक्तिसँग हैन, समाजसँग जोडिएको कुरा हो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘पागल‘ शीर्षककै कविता लेखेर ‘जरुर साथी म पागल‘ भन्नुभयो । एउटा सर्जक तथा अभियन्तामा यस्तो सोच र मनोभाव किन आउँछ ?

देवकोटा जस्तै धेरै सर्जकले साहित्यिक कृतिमा पागलपनको बारेमा चित्रण गरेका छन् । विजय मल्लको अनुराधा उपन्यास र बहुलाकाजीको सपना नाटक । ध्रुवचन्द्र गौतमको स्वर्गीय हीरादेवीको खोज उपन्यास । श्रवण मुकारुङको बिसे नगर्चीको बयान कविता । यी सिर्जनाहरुमा पागलपनको विम्बबाट हेरेर समाजको मान्यतालाई कडा रुपमा चुनौती दिइएको छ ।

पागलपनलाई शक्तिको रुपमा रुपान्तरण गरी समाजलाई तीखो गरी प्रहार गर्न सकिने भएकाले पागलको चित्रण गरिन्छ जस्तो लाग्छ ।

लेखक–कलाकारलाई समाजमा किन अलिक असामान्य सोचिन्छ ?

समाजको हेराइमा घर-गृहस्थीमा व्यवस्थित हिसाबले लागेको मान्छे सामान्य हो । यसअनुसार बालबच्चा हेर्ने, जागिर खाने कर्म सामान्य जीवन कर्म हुन् । जसरी होस् कुनै न कुनै रुपमा उत्पादक हुनुपर्‍यो । तर लेखक, कलाकार र चित्रकार त कुनै मोहबिना कला साधनामै लिप्त हुन्छन् । अनुत्पादक काममा घोरिन्छन् । पैसा र नाममा रुचि राख्दैनन् । यसैले तिनलाई बोलीचालीमा सहजै ‘ए यसको त दिमाग ठीक छैन’ भनिदिने गरिन्छ ।

तपाईं एक्लै बस्दा, हिंड्दा मनमा कस्ता कुरा खेलाउनुहुन्छ ?

प्रकृति हेरेर यत्तिकै केही नसोची पनि बसिरहेको हुन्छु । कहिले लेखनकै बारेमा सोच्छु । प्राकृतिक ठाउँमा गएर लेख्न मन पराउँछु ।

फेरि पनि घनचक्कर जस्तै विसंगत तथा पागल चरित्रका बारेमा केही लेख्ने सोच छ ?

अहिले ठ्याक्कै भन्न गाह्रो छ । आख्यानकै स्वरुपमा कुनै समय लेख्न पनि सकिएला । 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे