सान्ड्रा सर्वाधिक कमाउने अभिनेत्री

सान्ड्रा सर्वाधिक कमाउने अभिनेत्री

काठमाडौ, श्रावण २१

काठमाडौ, श्रावण २१ - उमेरले हाफ सेन्चुरी हानेपछि हलिउड नायिका सान्ड्रा बुलक झन् झन् तगडा हुँदै आइरहेकी छन्। धनीहरूको सूची प्रकाशित गर्ने फोब्र्स म्यागजिनले हालै सार्वजनिक गरेको सर्वाधिक कमाउने यस वर्षका नायिकाहरूमा सान्ड्रालाई अग्रपंक्तिमा राखेको छ। उक्त म्यागजिनका अनुसार, बुलकले यस वर्ष आफ्नो धनराशि पाँच करोड १० लाख डलर पुर्‍याएर प्रतिस्पर्धीलाई उछिनेकी हुन्। उक्त धनराशि जम्मा पार्न उनलाई यसै वर्ष बक्सअफिस हिट भएको 'ग्राभिटी' को मुख्य योगदान रह्यो।

सन् २००७ मा मनोरञ्जन संसारमा १४ औं धनी महिलाको सूचीमा परेदेखि यी नायिकाले कमाइमा घाटा बेहोर्नुपरेको छैन। त्यसपछि उनका दुई फिल्म 'द प्रपोजल' र 'द ब्लाइन्ड साइड' व्यावसायिक हिसाबले उत्कृष्ट ठहरिएपछि नायिका बुलकको पोल्टामा पनि मोटै रकम हात लाग्यो। 'द ब्लाइन्ड साइड' बाट त उनले नायिकातर्फको ओस्कार पनि जितिन्। एकपछि अर्को सफलताले घेरिएकी नायिका तथा निर्मात्री सन् २०१२ मा पहिलो पटक पाँच करोड ६० लाख डलर कमाएर सर्वाधिक कमाइ गर्ने नायिकाको गिनिज वल्र्ड रेकर्ड नै बनाइन्। गतवर्ष पनि उनका 'द हिट' र 'ग्राभिटी' को बक्सअफिस सफलताले फेरि उनलाई पछिल्लो सफलता दिलाएको हो। यस वर्ष भने उनका कुनै पनि फिल्म रिलिज हुने छैनन्। यसको प्रत्यक्ष असर उपाधि रक्षामा पर्ने देखिन्छ।

फिल्म नबन्दै 'ग्राभिटी' को स्क्रिप्टलाई उच्च जोखिममा राखिएको थियो। अन्तरिक्षमा अड्किएकी एक महिलाको भूमिकालाई ९० मिनेटसम्म फिल्मांकन गर्दा दर्शकले अल्छी मान्ने र करिब १० करोड डलरको लगानी डुब्ने डर थियो। तर सान्ड्राको अभिनय कौशलले केवल फिल्मको सफलतामा मात्रै उद्धार गरेन, बरु आफ्नै खातामा पनि मोटो रकम भण्डारण गरिदियो। फिल्मले विश्वभरबाट झन्डै ७१ करोड ६० लाख डलर कमाइ गर्‍यो। हलिउडमा फिल्मको सफलताले मुख्य कलाकारलाई समेत पारिश्रमिक साथै मोटो रकम बोनस प्राप्त हुने गर्छ। तर अझै पनि नायिकाहरूको कमाइ नायकको तुलनामा भने कमै छ। गएको एक वर्षमा झन्डै साढे सात करोड डलर कमाएर 'आइरन म्यान' नायक रोबर्ट डाउनी जुनियर फोब्र्सको सर्वाधिक कमाइ गर्ने नायकको एक नम्बरमा परेका थिए।

धनी नायिकाको सूचीमा 'द हंगर गेम्स' नायिका जेनिफर लरेन्स दोस्रो भएकी छन्। कुनै बेला पहिलो फिल्मबाट १० लाख डलरभन्दा कम पारिश्रमिक पाएकी लरेन्सले गएको एक वर्षभरिमा तीन करोड ४० लाख डलर आर्जन गरेको फोब्र्सको तथ्यांकले बताउँछ। उनी फेम र कमाइका आधारमा फोब्र्सको सेलिबे्रटी १०० को सूचीमा उत्कृष्ट १२ मा समेत अटाएकी छन्।

त्यसबाहेक धनी नायिकाको सूचीमा तीन करोड १० लाख डलर कमाइ गर्दैर् 'फ्रेन्ड्स' नायिका जेनिफर एनिस्टन तेस्रो स्थानमा परेकी छन् भने एक करोड ९० लाख कमाइसहित ग्वेनेथ पाल्ट्रो चौथोमा अटाएकी छन्। गतवर्ष सर्वाधिक कमाइ गर्ने नायिका एन्जेलिना जोलीले भने यस वर्ष एक करोड ८० लाख डलर मात्रै कमाइ गर्दै पाँचौं स्थानका लागि उति नै कमाइ गरेकी अर्की नायिका क्यामरुन डियाजसँग साझेदारी गरेकी छन्। गतवर्ष जोलीले तीन करोड ३० लाख डलर कमाइ गरेकी थिइन्। यस वर्ष जोलीको धनराशिमा गिरावट आउनुमा फोब्र्सले होम प्रोडक्सन फिल्म 'माल्फिसेन्ट' मा उनको ठूलो लगानीलाई कारक मानेको छ। म्यागजिनले आगामी वर्ष उनको खाता पुनः ठूलो रकमले बढोत्तरी हुने अनुमान गरेको छ।

 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे