पाल्पा । वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ ।
कालीगण्डकी नदीको रिडी, राम्दी, भुजात, ज्याग्दी, तातोपानी, रामघाट, केलादी, पुट्टारघाट, बालीघाटलगायतका घाटमा नदी स्नान गर्ने, नदी किनारमा पूजा गर्नेको चहलपहल छ । नदीमा स्नान गरेपश्चात् लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्ने व्यवस्था मिलाइएको लक्ष्मीनारायण गुठी रामघाटका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए ।
आजको दिन यस घाटमा भगवान् रामले बनवास जाने क्रममा यहाँ आएर तपस्या गरेको र दिनहुँ नदीमा नुहाउने गरेका कारण रामघाटलाई विशेष महत्वका साथ धेरै ठाउँबाट स्नान गर्न आउने गरेको उनले बताए ।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन भएकाले कालीगण्डकीका विभिन्न स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो ।
पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी, जैमिनीघाट, सेतीवेणी, पुर्तिघाट, नयाँ पुल, गलेश्वरधामलगायतका घाट तथा धाममा बिहानैदेखि भक्तजनको मेला लागेको छ । वैशाखे सङ्क्रान्ति बिग्रेकाहरूले बिहानै कालीगण्डकी नदी स्नान गर्ने परम्पराअनुसार बिहानैदेखि भीड लागेको हो ।
कालीगण्डकी स्नान गर्नका लागि पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मीलगायतका जिल्लाबाट भक्तजनको घुइँचो लागेको छ । दामोदरकुण्ड र कागबेनीबाट सुरु भएको कालीगण्डकी नदीमा स्नान गरे वर्षैभरि नै राम्रो हुने विश्वास रहिआएको छ ।

