अझै फर्किएन भैरहवामा फुटबलको रौनक

भैरहवा । तीन वर्ष पहिला भैरहवाको खेल माहोल ‘महात्मा बुद्ध गोल्डकप’ आयोजना हुने खबरले तातिएको थियो । फुटबल खेलाडी मात्र हैन यस क्षेत्रका खेलप्रेमीहरु पनि भैरहवामा फेरि फुटबल आयोजना हुने खबरले मात्र पुलकित भएका थिए ।

विसं २०७६ को चैत पहिलो साता भैरहवामा ‘महात्मा बुद्ध गोल्डकप’ हुने सबै तयारी पूरा भएको थियो । बीस वर्षपछि बल्ल हुन लागेको फुटबल प्रतियोगिता हेर्न पाउने भैरहवा तथा यस आसपासका खेलप्रेमीको आशा त्यतिबेला कोभिडको पहिलो लहरले नराम्ररी जिल्यायो । त्यसयता पनि प्रतियोगिताको पखाईमा रहेका स्थानीयवासी तत्काललाई प्रतियोगिता हुने कुनै सम्भावना देख्दैनन् ।

विसं २०४० पछि भैरहवामा फुटबलको बेग्लै माहोल थियो । भैरहवामा त्यसबेला हुने ‘महात्मा बुद्ध गोल्डकप’ जसले यस क्षेत्रमा फुटबलको रङ भथ्र्यो । स्थानीय टोली त छँदैछ, भारतका विभिन्न स्थानबाट पनि भैरहवासम्म फुटबल खेल्न टोली आउँथे ।

भैरहवाका किसन थापा महात्मा बुद्ध गोल्डकपका साक्षी छन् । थापासँग २०४० सालदेखि नै गोल्डकपको अनुभव छ । विभिन्न टोलीको प्रतिनिधित्व गर्दै थापाले गोल्डकप खेलेका छन् ।

विसं २०३८ मा स्थानीय युवाले अञ्चलपुर युवा क्लब गठन गरी प्रतियोगिता सुरु गरे पनि यसलाई औपचरिक रुपमा विसं २०४२ मा तत्कालीन नगर पञ्चायतले अपनत्व ग्रहण गरेको थियो । त्यतिबेला महात्मा बुद्ध गोल्डकप स्थानीय जनप्रतिनिधि हुन्जेल सञ्चालनमा रहेको थियो ।

पछिल्लोपटक उनीले विसं २०५५ मा जम्मुको गोर्खा ब्रिगेडबाट महात्मा बुद्ध गोल्डकप खेलेका थिए । त्यसपछि उनले प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएनन् ।

थापा भारतमा फौजी थिए । गोल्डकप भन्नासाथ उतैबाट फौजी भेला पारेर टिम बनाउथे । गोल्डकपको अवधिभर भैरहवा बस्थे, प्रतियोगिता खेल्थे र फर्किन्थे । विसं २०५५ पछि प्रतियोगिता नहुँदा उनी भारत केन्द्रित भए । उतै फुटबलमा व्यस्त बने ।

फुटबल खेल्न भनेपछि हुरुक्कै हुने थापालाई प्रतियोगिता बन्द भएपछि मनमा चिसो पस्यो । “मन दुख्यो”, थापाले भने, “तत्कालीन समयमा जुर्मुराउँदो प्रतियोगिता बन्द भएपछि नरमाइलो भयो । महात्मा बुद्ध गोल्डकप जिल्लाकै गौरव थियो ।”

भैरहवा र आसपासका क्षेत्रमा फुटबल निरन्तर ओरालो लाग्दै गएको छ । त्यसपछि लामो समय उनी जागिरको सिलसिलामा भारतमै बसे । भारतमै हुने फाट्टफुट्ट प्रतियोगितामा सहभागिता जनाए । भारतीय सेवाबाट अवकास पाएर उनी अहिले स्वदेश फर्किएका छन् । फुटबलप्रतिको थापाको चासो सेलाएको छैन तर फुटबल गतिविधि ठप्प हुँदा उनी चिन्तित छन् ।

त्यतिबेला खेलाडीमा मात्र होइन, दर्शकमा पनि फुटबलप्रतिको चाख निकै थियो । “हामीले जुत्ताको अभावमा खाली खुट्टा नै फुटबल खेल्थ्यौँ, अहिलेको जस्तो टिसर्ट र र हाफपाइन्ट लगाएर फुटबल खेल्ने अवसर पनि मिल्दैनथ्यो”, थापाले अनुभव सुनाए । त्यतिबेला भैरहवाको लालीगुराँस क्लब नेपालकै प्रसिद्ध टोली थियो ।

उनी भनछन्, “लालीगुराँससँग प्रतिस्पर्धा गर्न तत्कालीन समयमा काठमाडौँ थर्काएर बसेका क्लब पनि अनकनाउथे । उनीहरुलाई खेल्न बोलाउन काठमाडौँका क्लब भैरहवा पुग्थे ।”

देशभरि फुटबल परिवर्तन हुँदै जाँदा भैरहवाले भने त्यसअनुसार आफूलाई परिवर्तन गर्न सकेको छैन । विसं २०५५ पछि यहाँ कुनै स्तरीय प्रतियोगिता हुन सकेको छैन । अहिले फुटबलको अवस्था फेरिएको छ ।

अहिले बलभन्दा पनि कौशलपूर्ण खेलको जमाना छ । थापाको पालामा हिलाम्मे मैदानमा पनि बल गरेर फुटबल खेल्ने चलन थियो । फुटबल खेल्नेले बलियो हुनुपर्छ, दौडनुपर्छ भन्ने मात्र हुन्थ्यो । तर आजभोलि दर्शकले बल र बुद्धि दुवै भएको खेलाडीलाई मन पराउन थालेका छन् ।

बन्द भएको २२ वर्षपछि फेरि भैरहवामा फुटबलको चर्चा सुरु भएको थियो । महात्मा बुद्ध गोल्डकप फेरि फर्किने तरखरमै थियो । विसं २०७६ मा तत्कालीन नगर प्रमुख हरिप्रसाद अधिकारीले रु २० लाख विनियोजन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गराएका थिए ।

नगर प्रमुख अधिकारीले २० वर्षदेखि आयोजना हुन नसकेको प्रतियोगितालाई पुनःजीवन प्रदान गर्नुपर्छ भन्ने नगरपालिकाको धारणाअनुसार प्रतियोगिता सुरु गर्न लागिएको बनाएका थिए । सङ्घीय प्रहरी एकाई कार्यालयको मैदान प्रतियोगिताका लागि तयार भएको थियो । तर त्यतिबेला प्रतियोगिता कोभिडले प्रभावित बन्यो ।

प्रतियोगिता सुरु हुने खबरले किसन थापाजस्ता पाका फुटबल खेलाडी मात्र हैन फुटबलमै भविष्य देख्नेका लागि पनि आशाको सञ्चार गरेको थियो । फुटबलका माध्यमबाट नगरलाई चिनाएको फुटबल प्रतियोगिता पुनःसञ्चालनमा आउने भएपछि यस क्षेत्रका खेलप्रेमी खुसी थिए । तर यो खुसी धेरै दिन टिक्न सकेन ।

विसं २०७६ मा बजेट छुट्याएर नै आयोजना हुन लागेको ‘महात्मा बुद्ध गोल्डकप’ त्यसयता बजेट पाउन सकेन । र इतिहासमा सीमित हुन पुगेको छ ।

खेलप्रेमीसमेत रहेकी सिद्धार्थनगर नगर पालिकाकी उपप्रमुख उमा अधिकारीका अनुसार “प्रतियोगिता साह्रै महँगो छ ।” भैरहवा क्षेत्रमा एन्फाबाट मान्यता प्राप्त अमरज्योति क्लब, माछापुच्छ«े क्लब, झरना स्पोर्टस् क्लब रहे पनि अहिले यी क्लबमा खेलाडी छैनन् । –राधेश्याम विश्वकर्मा/रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?