बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बैशाख १९ गते मंगलबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि मंगलबार विहान ११ बजेका लागि सभामुख तुलाराम घर्तीले प्रदेशसभा बैठक आह्वान गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका ८ दल र एक स्वतन्त्र सांसद समेतको समर्थनमा चौधरी विहिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रीपरिषद् बैठकबाट उनले सोमबार विश्वासको मत लिने निर्णय गरेका थिए । तर प्रदेशसभा सचिवालयमा आईतबार विहान १० बजे मात्रै विश्वासको प्रस्तावसम्बन्धी पत्र दर्ता भएका कारण मंगलबारलाई बैठक बोलाईएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेश सभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिन सकिने व्यवस्था छ । सचिवालयमा विश्वासको प्रस्ताव दर्तामा ढिलाई भएकाले बैठक मंगलवार तय गरिएको उनले बताए ।
विश्वासको मत लिएपछि मात्रै मन्त्रीको जिम्मेवारी तोक्ने र अन्य मन्त्री नियुक्त गर्ने चौधरीको तयारी छ । माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री बनेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय लिने सहमति गरेका छन् । माओवादीले अर्थ र भौतिकसहित ३ मन्त्रालय दाबी गरेको छ तर कांग्रेसले भने अर्थ र भौतिकमध्ये एक मन्त्रालय आफूसँगै राखेर माओवादीलाई अरु दुई मन्त्रालय दिन चाहेको छ ।
नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी र लोसपाबाट सन्तोष पाण्डेय मन्त्री नियुक्त भइसकेका छन् । यसअघि गिरी नेतृत्वको सरकारमा सहभागी बनेका जनमत र जसपाले पहिलेकै मन्त्रालय दाबी गरिरहेका छन् । त्यसैले कम्तीमा एक मन्त्रालय थपिने निश्चित छ ।
विश्वासको मत लिएपछि गठबन्धनभित्र मन्त्री छनोटका लागि मापदण्ड बन्ने र त्यसकै आधारमा मन्त्री छनोट र मन्त्रालयको बाँडफाँडको टुंगो लाग्ने कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक प्रदेशसभा सदस्य गरी ५३ प्रदेशसभा सदस्यको समर्थन छ ।

