बुटवल । अर्घाखाँचकिो सुपादेउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ ।
ढुङ्गाले लागेर जिल्लाको सन्धिखर्क नगरपालिका–७ बागमाराकी ३६ वर्षीय कल्पना थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्णप्रसाद घिमिरेले लुम्बिनी न्यूजलाई जानकारी दिए ।
उनका अनुसार थापाले त्यहाँ पुजा सामग्रीको पसल सञ्चालन गर्दै आएकी थिइन् । दिउँसो पसल बाहिर बसिरहेको समयमा बाटो माथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
ढुङ्गाले लागेर कल्पनाकी छोरी १७ वर्षीय गौरी थापा सामान्य घाईते भएकी छन् । मृतक थापाको जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टमपछि शव आफन्तलाई बुझाईएको घिमिरेले बताए ।

