बाँदर आतङ्कले खेतीयोग्य जमिन बाँझिदै

पाल्पा । राम्रो उब्जाउशिल जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन् ।

मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका विभिन्न बाली लगाएर स्याहार्न नपाएपछि हिजोआज कृषकले खेती गर्नै छाडेको सगाहाका अगुवा कृषक ऋषिराम अर्यालले बताए । उनको सानो चनौटे क्षेत्रमा मात्रै करिब आठ रोपनी जमिन अहिले बाँझै छ ।

वर्षमा तीनबाली राम्रो उत्पादन दिने खेत भएपनि बाँदरले लगाएको बाली माटोभित्र खोस्रेर खान थालेपछि अहिले धानबालीबाहेक अन्य खेती लगाउन अर्यालले छाडे ।

“रातदिन खेतबारीमा कुरेर बस्न सकिएन, माटोभित्र लगाएको बीउसमेत खोस्रेर खाएर केही उब्जन पाउँदैन”, उनले भने, “सिँचाइ प्रशस्त लाग्ने जमिन भए पनि बाँदरकै कारण जग्गा बाँझो राख्न बाध्य छौँ, आफूले वर्षौँदेखि खेती गरिरहेको जमिन बाँझिदा मन खुसी छैन, बाँदरले घरमा एक्लै बस्न नसक्ने अवस्था छ, झम्टने, चितोर्थे गरेर स्थानीयलाई हैरानी पारेको छ ।”

गाउँका जङ्गल, खरबारीमा रुख बिरुवा बढ्दै गएका छन् । महिला, ज्येष्ठ नागरिक, बालबालिकालाई देख्यो कि बाँदरले झम्टिने गरेको हुँदा घरभित्र ढोका लगाएर बस्नुपर्ने अवस्था रहेको अर्यालले बताए । एक समूहमा तीन सय देखि पाँच सयसम्म बाँदर एकै पटक गाउँ पस्ने गरेकाले स्थानीयलाई ज्यान जोगाउन डर त्रास छ ।

राम्रो सिँचाइ सुविधा पुगेको बिर्ताखण्डको सात रोपनी जग्गामा वर्षे धान खेतीबाहेक अन्य अन्नबाली लगाउन छाडेको छविलाल डुम्रेले बताए । सो जग्गामा यहाँले बिगतमा विभिन्न बालीनाली लगाएर उत्पादन लिँदै आएका थिए ।

मकै, गहुँ, आलु, चना, केराउ, तोरीलगायतका विभिन्न अन्नबाली राम्रै उत्पादन हुने करिब सात रोपनी खेतमा वर्षको एकबाली धानबाली मात्र लगाउने गरेको उनले बताए । बाँदर समस्याले विगत सात वर्षदेखि उब्जाउशिल जमिन बाँझिन पुगेको उनको गुनासो छ ।

“सिँचाइ सुविधा राम्रो भएपछि खेती गरेर अन्नबाली स्याहार्नै पाइँदैन, वर्षे धान खेतीबाहेक अन्य बाली लगाउन छाडेको धेरै वर्ष भइसक्यो”, उनले भने, “बाँदरको विकराल समस्याले खेती गरेर ढुक्कले बालीनाली स्याहार्न नपाएपछि हामी किसानले कसरी जीविकोपार्जन गर्ने हो भन्ने पिरलोले रातदिन सताउँछ, खेती गरेर खान खोज्दा पनि बाँदरले गर्न पाइँदैन ।”

जङ्गल बढ्दै जाँदा ठूलो समूहमा आएका बाँदरले स्थानीयलाई घरमा बस्नसमेत डर त्रास बढेको छ । खेती गरेर लगानी उठाउन नसकिने अवस्था छ । समूहमा गाउँ पसेका बाँदरले घरका आँगन, बार्दली, पिँढीमा राखेका अनाज खाएर सखापै पार्ने गरेको छ ।

माथिल्लो बारीमा पर्ने करिब तीन रोपनी जग्गा तीन वर्षदेखि बाँझिदै गएको पिताम्बर अर्यालले बताए । उनले बालीनाली लगाएर स्याहार्नै नपाइने अवस्था भएपछि अहिले खेती गर्न छाडेका छन् । खेती गर्न छाडेपछि रुख बिरुवाले जमिन ढाकेको छ ।

राम्रो अन्नबाली उत्पादन हुने बलौटा डुम्रीकुना खेत अहिले बाँझो बनेको नारायण रेग्मीले बताए । उनको दाजुभाइसहितको करिब एक सय पाँच रोपनी जग्गामध्ये हाल ५० रोपनी जग्गा बाँझै छ । राम्रै अन्नबाली उब्जाउ हुने जमिन भएपछि बाँदर आतङ्कले खेती गर्नै छाडेको उनको भनाइ छ ।

सगाहा क्षेत्रका सानो चनौटेको करिब ११, अम्मोटे क्षेत्रका २४, सुखौटाका ५०, बुढीयाबारी एक सय ५०, बिर्ताखण्डको ३५, सगाहाको माथिल्लोबारी एक सय, सिमलगैरा खण्डको एक सय ५० रोपनी क्षेत्रफल बाँझिदै गएको छ ।

खेतखण्ड रहेका अम्मौटे, सुखौरा, सानो चनौटे, बिर्ता क्षेत्रमा राम्रो सिँचाइ सुविधा पुगे पनि बाँदरले सताउन थालेपछि अहिले बाँझै राख्न कृषक बाध्य छन् ।

पहिला वनजङ्गलमा प्रशस्त मात्रामा बाँदरका लागि आवश्यक पर्ने विभिन्न फलफूल, कन्दमूल पाइन्थ्यो । हिजोआज सालका रुखबाहेक अन्य रुख फँडानी गर्ने कार्यले आहार अभावमा बाँदर गाउँ पस्न थालेको हो ।

हिजो घाँस काट्ने खरबारी अहिले वनजङ्गलमा परिणत भएको छ । जसले गर्दा बाँदरले सोही खरबारीलाई बासस्थान बनाएर गाउँमा ठूलो सङ्ख्यामा पसेर सताउने गर्दछ ।

यो क्षेत्रमा विगत पाँच सात वर्षदेखि बाँदर पसेर सताउने गरे पनि स्थानीयले ढुक्कले खेती लगाएर स्याहार्न पाएका छैनन् । बाँदर धपाएर पनि नभाग्ने भएपछि खेती नै लगाउन छाडेको कृषकको गुनासो छ ।

गाउँमा युवापुस्ता पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा बाहिर रहने, घरमा बालबालिका, ज्येष्ठ नागरिक, महिलामात्रै बस्ने गर्दा पनि बाँदरले घरमा एक्लै देखेमा मानिसलाई झम्टने, चिथोर्ने, घरभित्र राखेका विभिन्न खानेकुरा खाने गरेको छ । बाँदर आतङ्कले रम्भाको सगाहा मात्र नभई अन्य क्षेत्रमा पनि सताइरहेको छ ।

कतिपय ठाउँमा बाँदरकै कारण स्थानीयले आफ्नो थलो छाड्नुपरेको छ । गाउँमा बसेर खेती गरेर खान नपाउने अवस्था भएपछि सहर बजार नजिकका क्षेत्र तथा तल्ला समथर क्षेत्रमा स्थानीय बसाइँसराइ गरी जान बाध्य छन् ।

गाउँका खेतीयोग्य जमिन बाँझो बनेको छ । सहर बजार तथा तल्ला समथर क्षेत्रमा बसोबास भरिन थालेका छन् । खानेपानी, सिँचाइ, मोटरबाटोलगायतका सुविधा भए पनि बाँदर समस्याको कारण देखाउँदै पछिल्लो समय धेरैले पुर्खौली बस्ती छाड्दै गएको बताएका छन् । –सुशीला रेग्मी/रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?