बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक अस्थिरताको अन्त्यका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने बताएका छन् । उनले अस्थिर राजनीतिले मुलुकको भविष्यको राम्रो संकेत नदेखिएको बताए ।
अन्तर प्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा कानुन निर्माणमा प्रदेश स्थानीय तहसम्म जोडिन आवश्यक रहेको बताए । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई हेर्ने दृष्टिकोण कै कारण संघीयता कमजोर हुने हो कि भन्ने आशंका बढेको उनको भनाई छ ।
बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले व्यवस्थाप्रति नै कुरा उठने गरी काम गर्नु विडम्बना भएको बताए । उनले एउटा सही नेतृत्वले मुलुकलाई आमुल परिवर्तन गर्न सक्ने तर व्यवस्थामा आएको अविश्वासले मुलुकलाई हित नगर्ने बताए ।
अधिकारविहीन संघीयता दीर्घकालीन हुन नसक्ने भएकाले भएका कमीकमजोरीलाई समयमै सच्याउनुपर्नेमा उनले जोड दिए । उनले राजनीतिक दलप्रतिको विश्वासमा कमी आउन नदिन जनताको भावनाको विषयमा गम्भिर भएर सोच्न आवश्यक रहेको बताए ।
अन्तरक्रियामा बागमती प्रदेश सभाका सचिव कृष्णहरि खडकाले प्रदेशसभाले हालसम्म ७० कानुन निर्माण गरेको जानकारी दिए भने लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुन मगरले लुम्बिनीका गतिविधिको बारेमा जानकारी गराए ।
बागमती प्रदेश सभाको निमन्त्रणामा लुम्बिनीका सभामुख घर्ती, उपसभामुख मेनुका खाँड केसीसहितको टोली हेटौंडा पुगेको हो ।

