बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलको स्तरोन्नतीलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक गिरीले सात दशक अघि स्थापना भएको टरिगाउँ विमानस्थलको हालसम्म पनि स्तरोन्नती हुन नसकेको र अहिले विमानस्थलको स्तरोन्नतीको चर्चा चलेको बताउँदै उनले आगामी आर्थिक वर्षमा विमानस्थलको स्तरोन्नती गर्न के कस्ता योजना र रणनीति छ भन्ने प्रश्न प्रधानमन्त्रीलाई गरेको थिए ।
गिरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले टरिगाउँ विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले सम्भाव्यता अध्ययन गरिसकेको जानकारी गराए ।
प्राथमिकताका आधारमा विमानस्थल निर्माण गर्ने बताउँदै उनले भने, “यसलाई स्तरवृद्धि गर्नको लागि उच्च प्राथमिकतामा राखिएको छ, हामीले अन्तराष्ट्रिय विमानस्थल निर्माणको कुरालाई प्राथमिकतामा राखेका छौँ तर कुन विमानस्थललाई पहिले बनाउनुपर्ने हो भन्ने विषयमा हामी कही न कही चुकेका छौँ ।”
विमानस्थलको धावनमार्ग ७ सय ५० मिटर मात्रै भएका कारण १९ सिटे टुईनेटरले मात्रै उडान भर्दै आएको छ । धावनमार्गको स्तरोन्नती गरेर १५ सय मिटर बनाउनका लागि दाङबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुले चासो देखाउँदै आएका छन् ।

