रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन भारतले अनुमति दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा दाहालले सीमा क्षेत्रको हवाई अनुमति पाएको उल्लेख गरे ।
भ्रमण दलमै नयाँ दिल्लीमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यो सहमतिसँगै अब जुनसुकै मौसममा पनि यो विमानस्थलमा जहाजहरुले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने जानकारी दिए ।
यसअघि यो प्रणाली जडान भएपनि भारतबाट सञ्चालनको अनुमति नआएका कारण जाडो याममा हुस्सु लाग्दा जहाजहरुले उडान नै रद्द गर्नु परेको थियो । उपकरणमा आधारित ल्याण्डिङ प्रणालीमा कम भिजिबिलिटीमा पनि जहाज सजिलै अवतरण गर्न सक्छन् । अब नेपालले प्रणाली सञ्चालनको प्रक्रिया पुरा गर्नुपर्छ ।
यस्तो उडानका दौरान जहाजहरुले भारतको नजिकको बोर्डर छुन सक्छन् । सो क्रममा भारतबाट थप अनुमति लिइरहनु पर्दैन ।
यसअघि आइएलएसमा भारतको सहमति नहुँदा गौतमबुद्धमा भीएफआर उडान मात्र भइरहेको थियो। आइएलएस उडानमा भारतले सहमति नदिँदा विगतमा यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरेको जजिरा एयरवेजले केही महिना उडान नै रोकेको थियो।

