बुटवल । बुटवलमा निर्माण सम्पन्न अत्याधुनिक पशु बधशाला सञ्चालनको तयारी भएको छ । पशु बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आज बोलपत्र आह्वान गरेको छ ।
बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा निर्माण सम्पन्न बधशाला सञ्चालनका लागि बोलपत्र प्रक्रिया पूरा भई आगामी आर्थिक वर्षदेखि बधशाला सञ्चालन गर्ने तयारी भएको बुटवल उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
बधशाला सञ्चालनका लागि कानुनअनुसार प्रक्रिया पूरा भएपछि छिट्टै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
उनले बुटवललाई स्वस्थ मासु उत्पादन र बिक्री गर्ने सहरका रुपमा स्थापित गर्न पशु बधशाला सञ्चालन गरिने र यसले बुटवल बाहिरका सहरमा समेत मासु बिक्री गर्न सक्ने बताए ।
यसअघि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीच भएको सहमति अनुसार बधशाला सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको र दुई पक्षबीच भएको सहमतिअनुसार पशु बधशाला छिट्टै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणाबमोजिम बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने गरिभएको सहमति विपरीत हाल बोलपत्रमा लैजाने गरी प्रक्रिया अघि बढाइएकामा बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालि रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पौडेलले विरोध जनाए ।
बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत पन्थीका अनुसार यसअघिको सञ्चालनको प्रक्रियामा केही कानुनी त्रुटि फेला परेका कारण पहिलेको प्रक्रियालाई रद्द गरेर नयाँ बोलपत्र प्रक्रियामा लागिएको हो ।
उनले यसअघि बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई सञ्चालनको जिम्मा दिनेगरी भएको सहमतिमा उक्त कम्पनीलाई नियमनकारी निकायबाट व्यवसाय गर्ने अनुमति प्राप्त कारणले पहिलेको ठेक्का रद्द गर्नुपरेको बताए ।
“अहिलेको ठेक्का प्रक्रिया इबिल्डिङ गरिएको छ जसमा धेरैभन्दा धेरै व्यवसायीको प्रतिस्पर्धा होस भन्ने उद्देश्य हो”, उनले भने, “यदि उक्त कम्पनी पनि काम गर्न र प्रतिस्पर्धा गर्न योग्य छ भने आउन सक्छ ।”
बधशाला निर्माणमा बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्मको सरोकार रहेको र अहिले बधशाला सञ्चालनमा उपमहानगरपालिकाको विगतको सहमति विपरीत अगाडि बढ्न खोजेर बेवास्ता गरिएको अध्यक्ष पौडेलले गुनासो गरे ।
उपमहानगरपालिकाले यस अघि आह्वान गरेको बोलपत्रमा बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई सञ्चालनको स्वीकृति प्राप्त भएको अध्यक्ष पौडेलले बताए । त्यसको अन्तिम टुङ्गो गत फागुनमा नगरपालिकाको वर्तमान नेतृत्व र प्रशासनिक निकाय समेतको सामूहिक छलफलमा बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई वार्षिक रु ४७ लाख ३० हजार उपमहानगरपालिकालाई बुझाउने गरी सञ्चालनको जिम्मा दिने सहमति भएकामा अहिले आएर एकतर्फी सहमति तोड्ने काम भएको उनी बताउँछन ।
उपमहानगरपालिकासँगको सहमतिअनुरुप आफूहरुले रु एक करोड ९० लाख धरौटी जम्मा गरेको र अहिले आएर पशुपालक महिला किसान, मासु व्यवसायी लगायतको रकम सङ्कलन गरिएको तर अहिले सबैलाई अलपत्र पार्ने स्थितिमा पुर्याएको अध्यक्ष पौडेलले बताए ।
बधशालालाई यस क्षेत्रका ठूला बजारसँग ग्रामीण क्षेत्रलाई प्रत्यक्ष रुपमा जोड्ने नमूना परियोजनाका रुपमा बुटवल उपमहानगरपालिकाले अघि बढाएको हो । यो परियोजना सार्वजनिक–निजी–उत्पादक साझेदारीलाई एकै ठाउँ जोडेर निर्माण गरिएकाले पनि यसले गाउँ र सहरलाई जोडेर उत्पादन, बजारीकरण र आर्थिक विकासलाई महत्व दिइएको बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदीले बताए ।
परियोजना पूर्वप्रमुख सुवेदीकै कार्यकालमा २०७७ साल असार ३१ गतेदेखि बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकारको आर्थिक लगानी र हेफर इन्टरनेसनलको प्राविधिक सहयोगमा निर्माण सुरु भएको हो ।
परियोजनाले उपभोक्ताले स्वस्थ्यकर मासु उपभोग गर्न पाउने मात्र नभएर उत्पादक किसानहरुका लागि उत्पादित खसी बोकाहरुले उपयुक्त मूल्यसहित बजारीकरणमा सहजतासहित दोहोरो फाइदा हुनेछ ।
बधशाला निर्माणका लागि आव २०७६/७७ मा लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु सात करोड, बुटवल उपमहानगरपालिकाको रु तीन करोड गरी रु १० करोड बजेट विनियोजन गरी क्रमागतरुपमा बहुवर्षीय योजनाका रुपमा परियोजना अगाडि बढेको हो ।
तत्कालीन अवस्थामा परियोजनाको कूल बजेट रु २२ करोड १३ लाख रहेको छ । बधशाला पूर्ण रुपमा सञ्चालनमा आउँदा बजारको मागअनुसार एक हजार बाख्रा खपत हुने क्षमताको रहनेछ ।
यस्तै, यसमा हरेक दिन दुई सय ५० बाख्रा चिस्यान गर्न सकिने, एक लाख २५ हजार लिटर फोहर पानी प्रतिदिन प्रशोधन हुने र प्रतिदिन २ दशमलव ५ मेट्रिक टन क्षमताको बायो डाइजेस्टर सञ्चालनमा आउने प्राविधिक प्रतिवेदनमा उल्लेख छ ।
बधशाला सञ्चालनमा आउँदा एक हजार पाँच सय–दुई हजार बाख्राका लागि आराम कक्ष, दुईवटा चिस्यान सुविधासहितका ट्रक, पशु स्वास्थ्य, मासु जाँच र गुणस्तर प्रमाणीकरण ल्याबको व्यवस्थासमेत गरिएको छ ।
बधशालाबाट निस्किने फोहरलाई प्रशोधन गरेर बायो ग्यास निकालिनेछ भने पानीलाई पुनः प्रयोग गर्न मिल्नेगरी प्रशोधन गरिने समेतको योजना रहेको उपमहानगरपालिका योजना महाशाखा प्रमुख ई.सुमन श्रेष्ठले बताए ।
बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनका लागि नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ मा व्यवस्था भएअनुसार बधशाला सञ्चालनको तयारी अघि बढाइएको छ ।
विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको छ ।
कानुनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवलवासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउनेछन् ।
विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी पशु बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजतपत्र लिनुपर्नेजस्ता व्यवस्था गरिएको छ ।

