धान दिवस : दाङमा १० प्रतिशत मात्रै रोपाइँ

दाङ । दाङका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात् नहुँदा यस वर्ष जिल्लामा रोपाइँ ढिला भएको हो । असारको मध्यसम्म पनि दाङमा करिब १० प्रतिशतमात्रै रोपाइँ सकिएको छ ।

यस वर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ९० प्रतिशत खेत बाँझै छन् ।गत वर्ष असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशत रोपाइँ भइसकेको थियो । यस वर्ष वर्षा ढिला हुँदा रोपाइँ ढिला भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताए ।

“जिल्लामा यस वर्ष अहिलेसम्म करिब १० प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ”, उनले भने, “वर्षा ढिला हुँदा यस वर्ष अझै पनि ९० प्रतिशत खेत रोप्न बाँकी छ ।”

गत वर्ष समयमै वर्षा सुरु भएकाले असारको दोस्रो सातासम्म दाङमा ३५ प्रतिशत रोपाइँ सकिएको सूचना अधिकारी लामिछाको भनाइ छ । “गत वर्षभन्दा यस वर्ष धेरै कम रोपाइँ भएको छ”, उनले भने । यस वर्ष वर्षा समयमै नहुँदा किसानले बीउ समयमै राख्न नपाएको उनले बताए । “किसानले वर्षा ढिला भएकाले बीउ समयमा राख्न पाएनन्”, उनले भने, “बीउ भएको भए अहिले वर्षाको समयमा छिटो रोपाइँ हुन्थ्यो ।”

उनका अनुसार जिल्लामा दाङ उपत्यकाको तुलनामा देउखुरी उपत्यकामा यस वर्ष बढी धान रोपाइँ भएको छ । राप्ती नदीको पानीले राप्ती गाउँपालिकाका अधिकांश खेतमा अहिलेसम्म रोपाइँ सकिएको छ । यस्तै गढवाका केही भागमा मात्रै अहिलेसम्म रोपाइँ सकिएको सूचना अधिकारी लामिछानेले बताए ।

“राप्ती नदीको पानीले राप्ती र गढवा गाउँपालिकाका केही भागमा यस वर्ष अहिलेसम्म बढी रोपाइँ भएको छ”, उनले भने, “दाङको बबई नदीको पानीले तुलसीपुरका केही वडामा मात्रै रोपाइँ सकिएको छ ।

” दाङ उपत्यकामा वर्षा सुरु भएपछि मात्रै धानको ब्याड राख्न थालिएको उनले बताए । अहिले राखेको धानको बीउ साउनको पहिलो सातादेखि रोप्न सकिने लामिछानेले बताए ।

“धानको बीउ सामान्यतया २०/२२ दिनदेखि रोप्न सकिन्छ”, उनले भने, “अहिलेको वर्षा कायम रहेमा साउनको दोस्रो सातासम्म रोपाइँ सकिन्छ ।” खडेरी भएमा रोपाइँ फेरि प्रभावित हुनसक्ने उनले बताए । यसवर्ष ढिला गरी रोपाइँ भए पनि अब लगातार वर्षा भएपछि धान उत्पादन नघट्ने उनले बताए ।

उनका अनुसार दाङमा ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । तीमध्ये १९ हजार हेक्टर क्षेत्रफल खेतमा मात्रै बाह्रै महिना सिँचाइ हुने गरेको छ । जिल्लामा आधाभन्दा बढी खेत आकाशे पानीको भरमा धान खेती हुने गरेको सूचना अधिकारी लामिछानेले बताए । जिल्लामा बिन्देश्वरी जातको धान राम्रो उत्पादन हुने गरेको छ ।

यो जातको धान कम पानीमा पनि उत्पादन गर्न सकिने उनले बताए । पछिल्लो समय जिल्लामा राधा–४, सुख्खा–१, २, ३, ५, हरिनाथ जातको धानखेती भइरहेको उनले बताए । हाइब्रेड युएस ३१२ पनि किसानले धेरैमात्रामा लगाउन थालेको उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका–७ का किसान तिलक विष्टले यस वर्ष वर्षा ढिलागरी हुँदा समयमै खेत रोप्न नपाएको बताए । “धान रोपाइँ यस वर्ष गत वर्षभन्दा ढिला भएको छ”, उनले भने, “अहिले त भर्खर केहि दिनअघि मात्रै धानको ब्याड राखिएको छ ।” अहिले भर्खर राखेको बीउ साउनको पहिलो सातापछि मात्रै रोप्न सकिने उनी बताउछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?