बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नगरसभामा प्रस्तुत बजेट सर्वसम्मतीले पारित भएको छ ।
असार ७ गते नगरपालिकाको पहिलो नगरसभामा उपप्रमुख जगेश्वरी देवी चौधरीले दुई अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा चालु खर्चतर्फ एक अर्ब ६ करोड २४ लाख ५० हजार र पूँजीगततर्फ रु १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
नगरसभाबाट बेरुजु सम्परिक्षण, न्यायिक समितिको प्रतिवेदन, बजेट तथा कार्यक्रम, आर्थिक विद्येयक, विनियोजन विद्येयक पारित भएका छन् । उपप्रमुख चौधरीले बजेट सम्बन्धी आएका जिज्ञासाको सहजीकरण गरेकी थिइन् ।
नगरसभामा विभिन्न विषयगत समितिका तर्फबाट नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक जागेश्वर देवी चौधरीले न्यायिक समितिको प्रतिवेदन, कार्यपालिका सदस्य राधा शाहीले सुशासन तथा संस्थागत विकास समितिको प्रतिवेदन र फर्सुराम गिरिले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

