back to top

सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती

राँझा । बाँकेको परसपुर–गौघाट सडक निर्माणमा ठेकेदारको ढिलासुस्तीले सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ ।

खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगन्जसँग जोड्ने परसपुर–गौघाट सडक जताततै खाल्डाखुल्डी भएका छन् ।

पानी जमेर हिलाम्मे अवस्थामा रहेको खजुरा गाउँपालिका–२ का भीम वलीले बताए । “सडकैभरि खाल्डाखुल्डीले वर्खाको पानी भरिएर सडक पोखरीजस्तै भएको छ”, उनले भने, “हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे भएर आवतजावत गर्नुपर्ने बाध्यता छ ।”

ठेकेदारले कालोपत्र भत्काएर काम अधुरै छाडेपछि सडक अस्तव्यस्त बनेको छ । सडक डिभिजन नेपालगन्जले २०७९ वैशाख २५ गते कन्काई गणपति जेभीसँग रु १३ करोड ४२ लाखमा २०८१ भदौ २५ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

तर हालसम्म १० प्रतिशत मात्र काम गरेको डिभिजन सडक कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर जनकबहादुर धामीले बताए ।

समयमै सक्ने गरी काम गर्न पत्राचार गर्दा काम गर्ने प्रतिबद्धता जनाउने गरे पनि काम नहुने गरेकाले अब पनि काम नगरे कम्पनीलाई पेश्कीस्वरुप दिइएको रकम फिर्ता लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने जानकारी दिए । गौघाट–परसपुर सडकखण्ड दैनिक मानिसको आवातजावत गर्ने चाप भएको सडकमा पर्छ ।

जुन सडकले बर्दियाको बढैयाताल गाउँपालिकालाई समेत जोड्ने गरेको छ । गौघाट–परसपुर सडकखण्डको स्तरोन्नति हुन नसकेको दशक पुग्न लागिसकेको छ । पुरानो सडक बिग्रिएपछि नयाँ सडक बनाउने काम वर्षौँदेखि अलपत्र परेपछि स्थानीयले दैनिक सास्ती भोग्नुपरेको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताइन् ।

परसपुर–गौघाट सडक १० किलोमिटर नालीसहित १२ मिटरको कालोपत्र बनाउने गरी काम सुरु भए पनि सम्झौता भएको ११ महिनासम्म १० प्रतिशतमात्रै कार्यप्रगति भएको छ । सडक निर्माण अधुरै भएपछि खजुराका बासिन्दा आक्रोशित छन् ।

“सम्झौता भएको ११ महिनासम्म पनि १० प्रतिशतमात्रै काम भएको छ । यस्तो गतिमा काम भएको खण्डमा बाँकी १३ महिनामा अरु काम हुन्छ भनेर हामीले कसरी विश्वस्त हुने ?”, खजुरा–२ का वडाध्यक्ष धनीराम वलीले भने ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले परसपुर–गौघाट सडक नबन्दा दुःख पाएका जनताले दैनिकरूपमा आफूहरूसँग गुनासो सुनाउने गरेको बताए ।

उनले उक्त सडक निर्माणका लागि दबाब दिन डिभिजन सडक कार्यालय नेपालगन्जमा पुगेर समेत माग गरिएको उल्लेख गरे । “सडक निर्माणको ठेक्का लिने काम नगर्ने प्रवृत्तिदेखि आजित भइसक्यौँ”, उनले आक्रोश पोखे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?