गोठगोठमा खटिए स्वास्थ्यकर्मी

राँझा । बाँकेको खजुरा गाउँपालिकाले महामारीका रुपमा फैलिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मीलाई खोपसहित किसानको गोठगोठमा खटाएको छ ।

गाउँपालिकाका आठवटै वडामा दुई सयभन्दा बढी गाईभैँसीमा यो रोगको सङ्क्रमण देखिएकाले स्थानीयवासीका गोठगोठमा पुगेर गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप अभियान सुरु गरिएकोे गाउँपालिका पशु विकास शाखा प्रमुख (भेटेरिनरी अधिकृत) कर्णप्रसाद खत्रीले जानकारी दिए ।

उनका अनुसार हालसम्म एकसय ३५ गाईभैँसीमा यो रोगविरुद्धको खोप लगाइएको छ । गाउँपालिकामा १६ हजार भन्दाबढी गाईभैँसीलाइ लम्पी स्किनविरुद्धको खोप लगाइने योजना रहेको छ । हालसम्म यो रोेगबाट खजुरामा २७ वटा गाईको मृत्यु भैसकेको छ ।

गाउँपालिकाले लम्पी स्किन रोगको जोखिमयुक्त क्षेत्र पहिचान गरी गाईभैँसीमा फैलिएको महामारी नियन्त्रण गर्न पशु स्वास्थ्यकर्मीलाई खोपसहित किसानको गोठगोठमा खटाइएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले बताए ।

रोगले महामारीको रूप लिन थालेपछि गाउँपालिका अध्यक्ष विक आफैँ भेटेरिनरी तथा पशु सेवा विज्ञ टोली लिएर निःशुल्क भ्याक्सिन लगाउने काममा खटिएका छन् ।

रोग नियन्त्रणका लागि खजुरा गाउँपालिकाले आकस्मिक उपचार गर्न रु दुई लाख ५० हजार छुट्याएर औषधि पनि खरिद गरिएको उनले जानकारी दिए ।

“पशुहरू निको हुने र थपिनेक्रम जारी रहेकाले करिब एक महिनाभित्र सङ्क्रमित दर न्यूनीकरण गर्ने अभियानमा हामी जुटेका छौँ”, अध्यक्ष विकको भनाइ थियोे ।

कार्यालयका प्रमुख खत्रीले लम्पी स्किन रोगको सङ्क्रमण भएका पशुमा उच्च ज्वरो आउने र शरीरभरि सानाठूला गिर्खाजस्ता लक्षण देखिने र शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिने गरेको बताए ।

यसैगरी कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण यो रोग लागेका पशुमा देखिन्छन् । यस रोगबाट एउटा क्षेत्रमा सामान्यतः २० प्रतिशत गाई बिरामी हुने र एकदेखि पाँच प्रतिशतसम्म मर्नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?