सालको पातले धानेको जीवन

जानकी । केशव केवट हरेक बिहान ५ बजे नै नेपालगञ्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा भेटिन्छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ घरियारन टोलका केवट श्रीमती सोनीलाई टपरी खुटेर बेच्नका लागि हरेक बिहान ५ बजे नै उक्त चोकमा भेटिन्छिन् । उमेरले भर्खरै ३० लागेको केवटलाई सालको पातबाट दुनाटपरी, बोहोता जस्ता सबै प्रकारका सामान बनाउन आउँछ ।

विगत पाँच वर्षदेखि सालको पातबाट हाते सामान सडकमै बसेर बनाउँदै र बिक्री गर्दै केवटको परिवारले घरको गुजारा चलाउँदै आएको छ । प्रत्येक बिहान पाँच बजे श्रीमतीलाई सघाउन सडकको एक छेऊमा सालको पातको टपरी बुन्दै र बेच्दै गर्ने केवटले दिउँसो फर्निचरको काम गरेर आय आर्जन गर्छन् ।

“म बिहान श्रीमतीलाई पात खुट्नमा सघाउँछु । अनि दिउँसोमा फर्निचर पसलमा काम गर्ने गर्छु ।’ उनले भने, “उब्जनी गर्न जग्गा छैन, पेट पाल्नका लागि मजदूरी गर्नै पर्ने हुन्छ ।”

सालको पातले घर चलाउन सजिलो भएको केवटले बताए । तीन सन्तानका अभिभावक केशव र उनकी श्रीमती सोनी सालको पात टिप्न झण्डै सोह्र किलोमिटर टाढाको सामुदायिक वनमा जान्छन् । वन हेरालुको आँखा छलेर सालको पात टिप्ने गरेको सोनीले बताइन् । “आफ्नो वन छैन अर्काको सामुदायिक वनमा गएर लुकिलुकी पात टिप्नुपर्छ ।

वन हेरालुले भेटाए भने जरिवाना तिर्नुपर्छ ।” उनले भनिन्,“हामी धेरै पटक लुकेर पात टिप्दा कारबाहीमा परेका छौँ । जरिवानास्वरुप हामीले रु एक सयदेखि रु ५० सम्म तिर्ने गरेका छौँ ।”

एक बिहानमा एक बोरा सालको पातबाट रु आठ सय जति कमाइ हुने सोनीले बताइन् । घरखर्च, छोराछोरीको पढाइखर्च, रोग लाग्दा उपचारखर्चदेखि पाहुनाको सबै खर्च यसैबाट चल्ने भएकाले यो कमाइले घर चलाउन गाह्रो भएको उनले बताइन् ।

“दिनको आठ सय जति कमाइले सबै कुरा चलाउनु पर्दा बचत हुनै पाउँदैन ।” छोराछोरीको भविष्यका लागि थोरै भए पनि रकम बचत गरिदिने रहर सोनीको रहरमै सीमित भएको छ ।

सोनीसँगै उनका छिमेकी मखाना केवट र सोनारा केवटले पनि सालको पात बेचेरै घर चलाएको पाँच वर्षभन्दा बढी भएको छ । पैँतीस वर्षीया मखानाका छ सन्तान छन् । सोनाराका पाँच सन्तान छन् । उनीहरु दुबै जनाको साँझ बिहानको छाक नै सालको पातबाट कमाइ भएको पैसाले टार्ने गर्दछ ।

घरदेखि जङ्गल आउँदा र जाँदा झण्डै १६/१७ किलोमिटरको दुरीमा साइकल चलाएर आफै पात टिप्ने र बिहानै सडकको एक छेऊमा ग्राहले चाहे जस्तै दुनाटपरी खुटेर बेच्नु मखना र सोनाराको दैनिकी नै बनेको छ । केशव र उनकी श्रीमती सोनीको जस्तै : वर्षौंदेखि सालको पात बेचेरै गुजारा चलाउँदै आएका चारै जनाले टपरी हातैले बनाउँछन् ।

बाँकेको राप्तिसोनारी गाउँपालिका–६ को खल्लाटपरीबाट बोरामा सालको पात भरेर दिन बिराएर बिहानै झिसमिसेमै नेपालगञ्जको त्रिभुवन चोकमा पात बेच्न आइपुग्नुहुन्छ कविता हमाल । रुकुमबाट बसाइँसराइ गरी खल्लाटपरीमा आएकी कविताले सालको पात बेच्न थालेको झण्डै सात वर्ष भएको छ ।

दिनको रु छ सय जति कमाइ हुने उल्लेख गर्दै कविताले आफ्नै मेहनतमा थोरै भए पनि पैसा जोहो गर्न पाएकामा खुसी लागेको बताइन् । ‘सामान्य घरखर्च र मेरो आफ्नै खर्च मैले यही सालको पात बेचेरै जुटाएको हुन्छु ।” श्रीमानले भारतमा कमाएको पैसाको मुख वर्षमा एक पटक देख्न पाइने उल्लेख गर्दै उनले आफ्नो कमाइबाट जोहो टार्न पाएकामा आफुलाई स्वाबलम्बी महिला भन्न रुचाउछिन् कविता ।

कवितासँगै सोही ठाउँबाट सीता खड्का र रमा थापा पनि एकाबिहानै नेपालगञ्ज साइकलमा बोरामा बाँधिएको सालको पात लिएर बेच्नका लागि आइपुग्छन् । रमाले सालको पात बेच्न सुरु गरेको सात महिना मात्रै भएको छ भने सीताले तीन वर्ष भएको छ ।

घर नजिकैको सामुदायिक वनबाट पात टिपेर नेपालगञ्जमा बिक्री गर्न आउने सीता र रमाको पनि कमाइ एक बिहानको रु चार सयदेखि रु पाँच सय सम्मको हुने गर्दछ । सालको पात बेचेरै अरुले पैसा कमाएको देखेर रमाले पनि सोही काम गर्न थालेको बताइन् ।

सुरुमा लाज र अप्ठ्यारो लागे पनि हिजोआज भने रमाइलो लाग्ने गरेको सीता र रमाले बताउँछन् । नेपालगञ्जको मुटु मानिने त्रिभुवन चोकमा सालको पातसँगै बजारमा पालिने पुशुचौपायालाई खुवाउनका लागि घाँस पनि बेच्न राखिएको हुन्छ ।

घाँस बेचेरै जीविकोपार्जन गर्दै आएकाहरु हिजोआज सजिलै घाँस पाउन छाडेपछि पेसा परिवर्तन गर्दै जङ्गलबाट सालको पात टिपेर बेच्न थालेको पाइन्छ ।

उनीहरुले सालको पातलाई मुठा बनाएर बेच्ने मात्र गर्नुहुन्न पातबाट बन्ने सबै प्रकारका सामग्री हातैले बनाएर बेच्ने गर्छन् । वर्षाको समयमा जङ्गलमा गएर पात टिप्न समस्या भएकै कारण केही महिना रोकिए पनि वर्षा सकिएलगत्तै उक्त चोकमा सालको पात प्रत्येक बिहान मुठाको रु २५ का दरले किन्न पाइन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?