प्युठान । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको भेला १० बुँदे ‘स्वर्गद्वारी घोषणापत्र” जारी गर्दै सकिएको छ ।
पवित्र धार्मिकस्थल प्यूठानको स्वर्गद्वारीमा युनियनको लुम्बिनी प्रदेशस्तरीय भेलाको प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी र विस्तारित बैठकको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उद्घाटन गरेका थिए ।
दुई दिन भदौ २२ र २३ गते भएको भेलाको बन्दसत्रले १० बुँदे ‘स्वर्गद्वारी घोषणापत्र’ जारी गरेको प्रदेश अध्यक्ष सुदीप गौतमले जानकारी दिए ।
भेलापछि महासचिव नवीन गिरीले जारी गरेको विज्ञप्तीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गर्दै पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष पत्रकारितालाई आत्मसाथ गरी समुन्नत समाज निर्माणका लागि पत्रकारिताको भूमिका बदलिँदै गरेको अवस्थामा समयानुकूल व्यवसायिक पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने ठहर गरेको उल्लेख छ ।
यस्तै युनियनले लुुम्बिनी सञ्चार समन्वय परिषद त्रुटीरहित तथा समावेशी ढंगले पुनःगठन र रजिष्ट्रारको नियुक्त गरी मिडिया सम्बन्धि सबै काम सोही परिषदमार्फत गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
प्रदेश सञ्चार ऐन अपूर्ण र त्रुटीपूर्ण भएकाले संशोधन गर्नुपर्ने युनियनको माग छ । पत्रकारहरुको पेशागत सुरक्षाका लागि ध्यानाकर्षण गराउँदै युनियनले पत्रकार बीमा, पत्रकार स्वास्थ्य बीमा जस्ता कल्याणकारी कार्यक्रमहरु लागू गर्न प्रदेश सरकार सक्षम माग गरेको छ ।
यस्तै लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले वितरण गर्ने विज्ञापनको रकम वृद्धि गरी सामानुपातिक वितरण प्रणाली अवलम्बन गर्न समेत युनियनको माग छ ।
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता मापदण्डका सन्दर्भमा प्रेस युनियन लुम्बिनी पूर्णरुपमा कार्यान्वयनको पक्षमा रहेको तर, प्रदेशका केही जिल्लामा सांगठनिक पूर्वाग्रह राखेर कार्यान्वयन गरेको देखिएकाले त्यसलाई तुरुन्त सच्चाउन माग गर्दै युनियनमा पनि शुद्धिकरण अभियानलाई प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस्तै भेलाले लुम्बिनी प्रदेशका विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकारहरुलाई आर्थिक संकटको वाहनामा पारिश्रमिक नदिने, ‘फोर्स लिभ’ मा राख्ने, पूर्णकालीनबाट आंशिक बनाउने काम भएको गुनासो आएको भन्दै सम्बन्धित सञ्चारमाध्यमलाई त्यसो नगर्न सचेत गराएको छ ।
मिडियालाई सबल बनाए मात्र मिडियाकर्मी र पत्रकारिताको सुरक्षा हुने भन्दै साना लगानीका मिडियाको व्यवस्थापन र सवलीकरणमा युनियनले विज्ञप्तीमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
यसैगरी नेपाल प्रेस युनियनको केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण बर्ष २०८०’ पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता भेलाले जनाएको छ ।
लुम्बिनी प्रदेशका महत्वपूर्ण धार्मिक, प्राकृतिक र सांस्कृतिक क्षेत्रहरुको प्रचारप्रसार, संरक्षण र संबद्र्धनमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै मिडियामार्फत पर्यटन प्रबद्र्धनको मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता समेत जनाइएको छ ।

