गुल्मी । स्वतन्त्र विद्यार्थी युनियन रुद्रावती बहुमुखि क्याम्पस वामीटक्सारले आफ्नो कार्यालय स्थापना गरेको छ । त्रिभुवन विश्व विद्यालय अन्तरगको सामुदायिक क्याम्पस रुद्रावतिमा नयाँ स्ववियू टिम निर्वाचित भएसंगै कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष हरिहर सापकोटाले स्ववियु पनि क्याम्पसकै एउटा अंग भएको बताए । उनले शैक्षिक सुधार तथा विद्यार्थी अधिकारको लागि संगठनले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
सापकोटाले शैक्षिक क्षेत्रलाई राजनैतिक खिचातानीको क्षेत्र बनाउन नहुने भन्दै प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने क्याम्पसलाई स्थानिय सरकारले पनि सहयोग गरिरहेको र अब पनि गर्ने प्रतिवद्धता जनाए ।
फरक प्रसंगमा प्रवक्ता सापकोटाले मुसिकोट नगरपालिकामा दीर्घकालिन महत्वका कामहरु भइरहेको बताए । उनले कृषि उपजको विक्रि सुनिश्चितता गरिएको, हरेक कृषि औजार एवं कृषि जन्य सामाग्रिमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरिएको जानकारी गराए ।
सापकोटाले अहिले देखिएको बसाइसराई तथा वैदेशिक रोजगारीको आकर्षण बेरोजगारीको मात्रै कारण नभएर विकल्प छनौटको रुपमा भएको बताए ।
कार्यालय उद्घाटनकै अवसर स्ववियूले ११ हजार १ सय ११ को अक्षयकोष स्थापना गरेको छ। कार्यालय सञ्चालनमा सहयोग होस् भन्ने हेतुले पदाधिकारी तथा सदस्यहरुले उठाएको पैसाबाट अक्षयकोष राखिएको सभापति अनिष पाठकले जानकारी दिए ।
कार्यक्रममा कार्यालय स्थापना गर्न सहयोग पुर्याउने सहयोगदाता, पूर्वस्ववियू सभापति तथा जग्गादाताहरुलाई सम्मान गरिएको थियो।

