गुल्मीमा पाँच बर्षमा ३ सय ८५ जनाले गरे आत्माहत्या, भदौमा मात्रै १० जना

आत्महत्या न्यूनीकरणका लागि गुल्मी प्रहरीले बनायो कार्ययोजना, कार्यान्वयनमा शंका

गुल्मी । गुल्मीमा मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेले २ भदौमा फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरे । उनको मृत्युको वहस अझै सकिएको छैन् ।

रुरु क्षेत्र गाउँपालिका–६ की पूर्व शिक्षिका ५५ बर्षीया पम्फा कुमारी दंगाल पछाईले आफुले व्यवहार समाल्न नसकेको सुसाइड नोट लेखेर ६ भदौमा आत्महत्या गरिन् ।

घिमिरे र पछाईसंगै भदौ महिनाको आजसम्म मात्रै १० जनाले आत्महत्या गरिसके । जसमा छ पुरुष, तीन महिला र एक बालिका छन् ।

जिल्लामा आत्महत्याको अवस्था निकै विकराल बन्दै गएको छ । जिल्लामा सवै उमेर समुह, वर्ग र जातका मान्छेहरु झुण्डिरहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको पाँच बर्षे तथ्यांकका आधारमा तीन सय ८५ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक बर्ष ०७५/०७६ मा ५५, ०७६/०७७ मा ८०, ०७७/०७८ मा ९८, ०७८/०७९ मा ७१ र ०७९/०८० मा ८१ जनाले आत्महत्या गरेका छन् ।

सवैभन्दा बढिले झुण्डिएर र केहिले बिष सेवन र पानीमा हाम फालेर आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक किरण सापकोटाले जानकारी दिए ।

प्रहरीद्धारा आत्महत्या न्यूनीकरण कार्ययोजना निर्माण

जिल्लामा आत्महत्याको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले आत्महत्या न्यूनीकरण कार्ययोजना २०८० निर्माण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले गुल्मी देशभरमै १५ औ र लुम्बिनी प्रदेशमा पाल्पा र अर्घाखाँचीपछि तेस्रो स्थानमा आत्महत्या हुने जिल्ला भएकाले कार्ययोजना निर्माण गरेर अभियान सञ्चालन गर्न थालिएको बताए ।

उनले जिल्ला, पालिका र वडास्तरीय आत्महत्या रोकथाम तथा नियन्त्रण कार्यदल निर्माण र अभियान सञ्चालनको लागि प्रहरी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र आर्युवेद नागरिक आरोग्यहरु गरेर एक हजार आठ सय ४१ जना भएकाले प्रत्येक पालिकामा एक सय ५४ र वडा तहमा २० जना परिचालन गर्न सकिने गरेर कार्ययोजना निर्माण गरेका छन् ।

कार्यदल बैठक तथा अभिमुखीकरण, सवै तह र संघ संस्थासंग समन्वात्मक कार्य, लक्षित समुह, बिद्यार्थी, सञ्चारकर्मी र समुदायलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने साथै उपचार र पुर्नस्थापनाको कामहरु गरिने प्रधानले बताए ।

कार्ययोजना कार्यान्वयनमा शंका

जिल्लामा विभिन्न समयमा सञ्चालन भएका सेलिब्रेटी अभियान र योजनाहरुको पूर्णता पाएका छैनन् । आत्महत्या न्यूनीकरणको अभ्यास र योजना तीन बर्ष पहिले पनि नभएको होइन् । पछि पूर्ण कार्यान्वयन हुन सकेन् ।

अहिले गुल्मी प्रहरीले निर्माण गरेको आत्महत्या न्यूनीकरण कार्ययोजना धेरै हदसम्म समस्या समाधानको नजिक छ । तर कार्यान्वयनमा चुनौती देखिन्छ ।

कार्ययोजनामा देखाइएको कार्यदल, जनशक्ति, र संघसंस्थाहरुले समयमै काम गरे असम्भव छैन् । नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले उपलब्धिभन्दा पहिले कार्ययोजना कार्यान्वयनमै आशंका व्यक्त गरे ।

उनले आत्महत्या विकराल बन्दै गएकाले अभियान कुनै कार्यालय प्रमुखका लागि भन्दा पनि जिल्लाको लागि हुनुपर्नेमा जोड दिए ।

रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्रध्यापक गुणानिधी शर्माले आत्महत्यासंग आर्थिक तथा सामाजिक कारण बढि भएकाले समस्या पहिचान प्रमुख कुरा भएको बताए ।

उनले एकै किसिमको कारणबाट मात्रै मान्छेले आत्महत्या नगरेकाले लक्षित समुह र समस्या पहिचानसहितको कार्ययोजना बन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?