लोप हुँदै कुशबडियाको पुर्ख्यौली पेसा

राँझा । आधुनिक प्रविधिको विकाससँगै लोपोन्मुख जाति कुशबडियाको पुर्ख्यौली पेसा लोप हुँदै गएको छ ।

सहर बजारदेखि गाउँघरसम्म मिक्सर मेसिन प्रयोग हुन थालेपछि जाँतो र सिलौटो बनाएर बिक्री गर्ने उक्त समुदायको पुर्ख्यौली पेसा अहिले सङ्कटमा पर्दै गएको हो ।

“हाम्रो पुर्ख्यौली पेसा सिलौटा, जाँतो र सनडोरीको व्यापार हो तर अहिले बिक्री नै हुँदैन”, जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित कुशबडिया बस्तीका अगुवा पटवारी कुशबडियाले भने, “अहिले घर–घरमा मिक्सर चलाउने भएकाले सिलौटा र जाँतो कसैले पनि किन्दैनन् ।”

दिनभरि सिलौटा, जाँतो र डोरी बेचेर आएको आम्दानीबाट साँझ बिहानको छाक टार्नै मुस्किल पर्ने भएपछि अहिले नयाँ पुस्ताले पुर्ख्यौली पेसा गर्न छोड्दै गएकाले आधुनिकतासँगै आफूहरुको पेसा सङ्कटमा परेको उनको गुनासो थियो ।

“जाँतोको ठाउँमा मिल आयो, सिलौटाको साटो मिक्सचर लिन थाले, सनपाटका डोरी छोडेर प्लास्टिकको डोरी लिन्छन् हाम्रो मेहनत कसैले बुझ्दैनन्”, पटवारीले भने, “अब सिलौटा, जाँतो र सनपाटको डोरी बिक्री गरेर जीविकोपार्जन हुन सक्दैन, मेसिन र मिक्सचरले हाम्रो पेसा बन्द हुँदै गएको छ ।”

सिलौटा र जाँतो बनाउने ढुङ्गा नेपालमा नपाइने भएकाले भारतको बहराइचबाट किनेर पर्छ । त्यस ढुङ्गालाई काँटछाँट गरेर उनीहरुले मेहनतका साथ कलात्मक बनाएर बिक्रीका लागि गाउँ–गाउँ पुग्ने गरे पनि बिक्री हुँदैन ।

एउटा सिलौटा बनाउने ढुङ्गाको भारु एक सय ५० पर्ने र बनाइसकेपछि रु चार/पाँच सयमा बिक्री गर्न पनि समस्या भएको अगुवा पट्वारीले बताए ।

“बिहान हुनेबित्तिकै सिलौटा पिटाउने भन्दै, गाउँभरि डुल्नुपर्छ”, कुशबडिया बस्तीकी मीना कुशबडियाले भने, “हिजोआज सिलौटा र जाँतो बिक्री हुँदैन, सबैले मसला पिस्ने मिक्सचर छ भन्छन्, रित्तो हात फर्कनुपर्छ ।”

कुशबडिया समुदायका पुरुषहरु सिलौटा, जाँतो बनाएर बिक्री गर्ने र महिलाहरु घरघरमा पुरानो सिलौटा, जाँतो खोप्न जाने गर्दछन् ।

दिनभरि डुलेर एकदुई ठाउँमा पुरानो सिलौटा खोप्ने काम पाएबापत पाउने चामल र दालबाट छाक टार्ने पनि मुस्किल भएको उनको भनाइ थियो ।

पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएपछि अहिले उनीहरु सामाजिक सुरक्षा भत्ताबाट जीविकोपार्जन गर्दै आएका छन् । जनजाति भित्रको लोपोउन्मुख जाति मानिने कुशबडिया/पथरकट्टा समुदायका प्रत्येक सदस्यले नेपाल सरकारबाट प्रतिमहिना रु चार हजार सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर, नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा र नेपालगञ्ज–२० गायत्रीनगरमा कुशबडिया समुदाय बस्दै आएका छन् । विसं २०७८ को जनगणनाअनुसार कुशबडिया/पत्थरकट्टा समुदायको जनसङ्ख्या तीन हजार तीन सय ४३ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?