बुटवल । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा बर्दियाका विनय राजभण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।
२० वर्षदेखि नेपाल क्रिकेट संघमा आवद्ध राजभण्डारी बर्दिया क्रिकेट संघका अध्यक्ष हुन् । उनी बर्दिया जिल्ला क्रिकेट संघको सदस्य, सहसचिव सचिव हुँदै अध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो ।
हालै भएको प्रदेश अधिवेशनबाट उनी लुम्बिनी प्रदेशको उपाध्यक्षमा समेत निर्वाचित भएका छन् । मोन्टी देसाई विगतमा नेपालको ब्याटिङ कन्सल्ट्यान्ट भएर आउँदा उनको म्यानेजरका रुपमा पनि काम गरेको अनुभव पनि राजभण्डारीसँग छ ।
क्यानका वर्तमान अध्यक्ष चन्द नै फेरि अध्यक्षमा दोहोरिने तयारीमा छन् । अध्यक्षका रुपमा चन्दले ४ वर्षको कार्यकाल खेर फालेकाले क्यानलाई नयाँ नेतृत्व चाहिएको राजभण्डारीले बताए ।
सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कारसमेत दिलाउन नसक्ने चन्दबाट थप केही आशा गर्न नसकिने राजभण्डारीको भनाइ छ । आफूभन्दा सिनियर कसैले चन्दविरुद्ध उम्मेदवारी दिने हिम्मत नगरेकाले अन्तिम समयमा आफुले उम्मेदवारी घोषणा गरेको उनले बताए ।
चन्दको कार्यकालमा क्रिकेट पूर्वधारमा शून्य प्रगति भएको, खेलाडीको हक–हितमा क्यानले कुनै काम गर्न नसकेको, नेपाल क्रिकेट लिग विवादित बनेको र खेलाडीहरुले पारिश्रमिक समेत नपपाएको जस्ता आरोप उनले लगाए ।
क्यानको नयाँ नेतृत्व छनोट गर्न आजबाट केन्द्रीय अधिवेशन सुरु हुँदैछ । आज उद्घाटन र बन्दसत्र हुने छ भने भोलि नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ । क्यानको १७ सदस्यीय कार्यसमितिका लागि ८६ जनाले मतदान गर्नेछन् ।

