काठमाडौं । मौसमविदले बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने बताएका छन् । आज दिनभरी नै पानी पर्ने र रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ ।
‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ, सुधारको यो क्रम पूर्वतिर सरिरहेको छ,’ मौसमविद लामिछानेले भने, ‘आजै रातिदेखि कोशी प्रदेशभन्दा पश्चिमतिर झन् बढी सुधार हुने देखिन्छ ।’
भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले लुम्बिनी प्रदेशदेखि पूर्वतर्फ तीन दिनयता वर्षा भइरहेको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका जिल्लाहरुमा रेकर्ड भएको छ ।
पाल्पाको अर्चले र कुमालगाउँ, दाङको बेलझुण्डी र मनिकापुर, ललितपुरको लेले, नवलपुरको गैंडाकोट र चितवनमा पनि धेरै भारी वर्षा रेकर्ड भएको छ । धान काट्ने र भित्राउने बेला भएको वर्षाले किसानहरु प्रभावित भएका थिए ।
पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमी नेपालबाट पूर्वतर्फ सर्दै बाहिरिन्छ । पश्चिम नेपालमा यस वर्षको मनसुन बहिर्गमनको संकेत देखिइसकेको मौसमविद लामिछानेको भनाइ छ ।
बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिएपछि र पूर्वी वायु (मनसुनी वायु) लाई पश्चिमी वायुले विस्थापित गरेपछि मनसुन बहिर्गमनको घोषणा गरिन्छ ।

