back to top

किसानलाई माला गाँस्न भ्याइनभ्याइ

घोराही । दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।

घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगरले फूल टिपेर माला बनाउन थालेका छन् ।

यस्तै घोराही उपमहानगरपालिका–१३ का इन्द्रा बुढा मगरले पनि तिहारका लागि आजदेखि फूल टिपेर माला बनाउन थालेका छन् ।

घोराही उपमहानगरपालिका–१४ मा फूल खेती गर्दै आएका वीरेन्द्र खड्काले पनि फूल टिपेर माला बनाउन थालेको बताए । उनले विगतमा तिहारको समयमा रु सात लाखभन्दा बढीको फूल बिक्री गरेको बताए ।

लोकेन्द्र, इन्द्रा र वीरेन्द्र जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि फूल बिक्रीको तयारी थालेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उहाँहरूको भनाइ छ ।

माला बनाएर शीतभण्डारमा राख्ने तर्खरमा किसान छन् । जिल्ला बाहिरबाट समेत फूलको माग आएको घोराही उपमहानगरपालिका–१४, झिगौरास्थित जलजला पुष्प खेती फार्मका सञ्चालक लोकेन्द्र रोका मगरले बताए ।

“जिल्लाभित्रैकै माग धेरै छ”, उनले भने । रोका मगरले दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका हुन् । उनले झिगौरासँगै सुनपुरमा पनि फूल खेती गरेका छन् ।

रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दसैँतिहारलगायत पर्व तथा अरु बेला फूलको माग आउन थालेपछि फूलखेती गर्न थालेका हुन् ।

“दाङमा व्यावसायिक रूपमा फूलखेती कतै थिएन, काठमाडौँमा फूलखेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले पनि सुरु गरेको हुँ”, रोका मगरले भने ।

रोका मगरले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक फूलखेती गर्दै आएका छन् । घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको समस्या नभएको उनले बताए ।

जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको छ । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन सुरु गरेको बताए ।

फूलको माग दसैँतिहारमा बढी हुने गरेको उनको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ ।

जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत रोका मगरको आग्रह छ । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ ।

इन्द्रा बुढाले विगत ७ वर्षपहिले देखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएका हुन् । उनले पनि अहिले फूल टिपेर माला बनाउन थालेका हुन् । तिहारका लागि माग हुन थालेको उनको भनाइ छ ।

“माला बनाउन थालेका छौँ”, उनले भने । प्रति माला रु ८० देखि रु दुई सयसम्ममा बिक्री गर्ने गरेको बुढाले बताए । जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उनले बताए ।

अहिले १२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको बुढाले बताए ।

एकदुई कट्ठाबाट सुरु भएको जिल्लाको फूलखेती हालआएर २५ बिघामा पुगेको छ भने ५० भन्दा बढी किसान व्यावसायिक रुपमै फूलखेतीमा जोडिएका छन् ।

जिल्लाका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीयको उत्पादनलाई बढावा दिन सर्वसाधारणमा कृत्रिम फूलको प्रयोग नगरी प्राकृतिक फूलका माला प्रयोग गर्न र अटेरी गरे कारबाही सहितको सूचना जारी गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?