बुटवल । रूकुम पश्चिममा ओर्लने क्रममा बसबाट किचेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको आठबिसकोट नगरपालिका– ११ का ३८ वर्षीय गणेश दमाइको ओर्लने क्रममा बसले किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक विष्णुप्रशाद श्रेष्ठले सेतोपाटीलाई बताए ।
शुक्रबार बेलुका साढे ६ बजेतिर राडी बजारदेखि बाँकेको नेपालगञ्जका लागि छुटेको ना ३ ख ५२०७ नम्बरको बसमा सवार दमाई ओर्लने क्रममा लडेका थिए । उनलाई त्यही बसले किचेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
घाइते दमाइलाई सात बजेतिर उद्धार गरि अस्पताल पठाइएकोमा सवा आठ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि चालकले बस बीचमै रोकेर भाग्न खोजेका थिए। चालक भाग्न खोजेपछि यात्रुबीच पनि भागदौड चल्दा थप दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा आठबिसकोट– १४ की १९ वर्षीया भावना चन्द र सोही ठाउँकै १९ वर्षीय राजेन्द्र पोखरेल घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।