भैरहवा । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन भारत सरकार र भारतीय दूतावासले गरेको सहयोग प्रशंसनीय रहेको बताए ।
उपराष्ट्रपतिले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीनरुपले नै अतुलनीय रहेको जनाउँदै नेपालको विकास साझेदार बनेकामा भारत सरकारलाई धन्यवाद दिए ।
आइतबार रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले शैक्षिक क्षेत्रको विकासमा सबै पक्ष र वर्गले सहयोग गर्न आवश्यक रहेको जनाए । उनले शिक्षकको दरबन्दी र विद्यार्थीको अनुपात मिलाउन लाग्नुपर्नेमा समेत जोड दिए ।
उपराष्ट्रपति यादवले विनाभिसा दुई देशका नागरिक आवतजावत गर्न सक्ने गरी स्थापित नेपाल–भारत सम्बन्ध अन्यत्र विरलै पाइने जनाए ।
दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अन्य मुलुकका लागि उदाहरणीय मात्रै नभई अद्वितीय र प्रशंसनीय रहेको उनको भनाइ छ ।
नेपालको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यमा भारतले गर्दै आएको सहयोगले मुलुकको विकास र समृद्धिमा टेवा पुगेको उपराष्ट्रपति यादवले जनाए ।
“नेपाल र भारतबीच रोटीबेटीको सम्बन्धमात्र नभई दुवै देशबीच वैवाहिक, सांस्कृतिक, धार्मिक, पर्यटन एवं रोजगारीका क्षेत्रमा एकअर्काको परिपूरकका रुपमा रहेको छ,” उनले भने, “यो सुखद विषय हो, यसलाई जीवन्त बनाइराख्न आवश्यक छ ।”
भारतीय राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले भारतले नेपालसँगको सहकार्यलाई अझै सुदृढ बनाउँदै गएको बताए ।
उनले नेपालको विकासमा साझेदार बन्न पाएकोमा खुशी व्यक्त गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर भारतले सहयोग गरिरहेको जानकारी दिए ।
भारत सरकारको सहयोगमा सञ्चालित ‘हाई इम्पेक्ट कम्युनिटी डेभलपमेन्ट परियोजना’ २० वर्ष पूरा भएको बताउँदै उहाँले यस अवधिमा यस परियोजनाअन्तर्गत पाँच सय ५० भन्दा बढी परियोजना सुरु गरेको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, दीपक बोहराका तर्फबाट उहाका छोरा प्रज्वल बोहोरा, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सिके गुप्ता लगायतले बोलेका थिए ।
भारतको अनुदान सहयोगमा नेपाली रु एक करोड ४९ लाखको लागतमा २०६९ सालमा पोखरभिण्डी माविको भवन निर्माण गरिएको थियो । दुईतले उक्त विद्यालय भवनमा १२ वटा कक्षाकोठा छन् । उक्त विद्यालयमा भारतीय विद्यार्थी पनि अध्ययन गर्छन् ।

