मुगु । सोरु गाउँपालिका–९ खनाया स्वास्थ्य केन्द्रमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद भएको छ । जातको कारण देखाउँदै उनलाई घरभेटीले डेरा छोड्न बाध्य बनाएका छन् ।
दाङ तुल्सीपुरकी उनी गत वर्ष माघ २४ गते खनाया स्वास्थ्य केन्द्रमा हाजिर भई उक्त स्वास्थ्य केन्द्रका इर्न्चाज सुरजकुमार शाहीको घरमा डेरा लिएर बस्दै आएकी थिइन् । डेरा लिएर बसेको करिब ९ महिनापछि दलित भएकोले भन्दै डेरा सार्ने दबाब दिएको विश्वकर्माले बताइन् ।
‘पहिले जात थाहा भएन तिमी यहाँ बस्यौ दलित रहेछौं अब कोठा छोडेर अन्यत्र जाउ’ सुरजकी आमाले भनेको उल्लेख गर्दै विश्वकर्माले भनिन्,’पानी नचल्ने जात रहेछौं पहिले थाहा भएन अब कोठा छोड ।’
घरमा बसाए अरु गाउँले आउँदैनन् समेत भनेपछि कोठा छोडेर स्वास्थ्य केन्द्रमा शरण लिन बाध्य भएन तुलशाले दुःखेसो पोखिन् ।
स्वास्थ्य केन्द्रका इन्चार्ज तथा घरभेटी सुरजले भने तुलशालाई कुनै जातीय विभेद नगरेको दाबी गरेका छन् । ‘म स्वास्थ्य इन्चार्ज भएकै कारणले सुरुमा तुलशालाई मेरो घरमा बसालें’, सुरजले भने,’ मेरी आमाले तुलशालाई कोठा छोड भन्ने दबाब दिएको जस्तो लाग्दैन ।’
‘गत सोमबार दलितले छोएको औषधि गाउँलेले खाँदैनन् तुलशालाई गाउँ निकाला’ भन्ने सूचना समाजिक सञ्जालमा आएपछि सुरक्षाकर्मी, पालिका उपाध्यक्ष र सञ्चारकर्मीहरु खनाया स्वास्थ्य केन्द्रमै पुगेर तुलशालाई मंगलबार जिल्ला सदरमुकाम गमगढी ल्याएका थिए । गमगढीमा उनले आफूले भोगेको विभेदबारे जानकारी दिएकी थिइन् ।
सोधपुछको क्रममा तुलशाले मैले छोएको औषधि गाउँलेले खाएनन् र मलाई गाउँलेले गाउँ निकाला गरेको भन्ने सामाजिक सञ्जालको समाचार गलत र मिथ्या भएको तर घरभेटीले चाहिँ जातकै आधारमा कोठा छोड्न लगाएको बताएकी छन् ।
अनमी तुलशाले जातीय विभेदको हिंसा भोग्नु परेको बिषयमा उजुरी परे अनुसन्धान गरि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए ।
छुवाछुतमुक्त राष्ट्र घोषणा भएको नेपालमा जातका आधारमा कुनै पनि व्यक्तिलाई हिंसा गर्न पाइँदैन । जातीय विभेदका आधारमा तुलशालाई हिंसा गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन दलित अधिकारकर्मीले माग गरेका छन् ।