गुल्मी । पछिल्लो समय जन्मोसव र बिवाह उत्सवका बहानामा होटलहरुमा लाखौ खर्च गर्ने प्रवृत्ति बढिरहेको छ । तर रुपन्देहीका एक दम्पतीले ८० जना बिपन्न विद्यार्थीको जाडो छेकेर ४० औ बिवाह बर्षगाँठ मनाएका छन् ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका–१२ का अमृतमान गुरुङ्ग र शारदा गुरुङ्गले गुल्मीको छत्रकोट गाउपालिका–१ हुँगा स्थित देविस्थान आधारभुत बिद्यालयका विपन्न बालबालिकालाई ८० थान ट्र्याक्सुट वितरण गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बहादुर गाहाले जिल्ला बाहिरको नागरिकले देश बाहिरबाट गरेको सहयोगले निकै उत्साहित भएको बताए । उनले अधिकांश दलित र गरिब परिवारका छोराछोरीले जाडोमा कष्ट खेपिरहेको अवस्थामा गुरुङ्ग दम्पतीले बिबाहउत्सवको खुसी ती बालबालिकासम्म पुराएर पुण्य प्राप्त गरेको उनले प्रतिक्रिया दिए ।
ब्रिटिस वेलफेयर गुल्मीका प्रमुख गम बहादुर थापाको समन्वयमा गुरुङ्ग दम्पतीले सहयोग गर्दै आएका छन् । गुरुङ्ग परिवार लामो समयदेखि बेलायतमा बस्दै आएको छ ।
गत बर्ष बाग्लुङ्ग जिल्लाको निसिखोला गाउँपलिका–३ को याङ्ग्म्याङ्ग स्कुलका बिद्यार्थीहरुलाई पनि दम्पतीले स्कुल ड्रेस प्रदान गरेका थिए ।

