धनगढी । कैलालीमा पहिलोपटक समलिङ्गी विवाह दर्ता भएको छ । चार वर्ष अघि विवाह गरेका कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका- १ बस्ने मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन् ।
उनीहरू दुवै जना तेस्रो लिङ्गी हुन् । शुक्रबार कैलारी गाउँलिका-८ को वडा कार्यालयले उनीहरूलाई विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको हो ।
गत १२ असारमा सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिएपछि कैलालीमा चौधरीको जोडीले पहिलोपटक विवाह दर्ता गराएका हुन् ।यसअघि लमजुङको दोर्दी गाउँपालिकाले नेपालमै पहिलोपटक समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गराएको थियो ।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले कैलाली जिल्लामा पनि पहिलोपटक तेस्रो लिंगी विवाह दर्ता भएको जानकारी दिइन् ।
समलिङ्गी विवाह गरेका प्रकाश र मनिलाले आफूहरूको विवाहले कानुनी मान्यता पाएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘लामो संघर्षपछि आज हामीलाई एउटा खुसी मिलेको छ । हामीले विवाह गरेको चार वर्षपछि कानुनीरुपमै विवाह दर्ता प्रमाणपत्र पाएका छौँ,’ प्रकाशले भने ।–साझा पोष्टबाट

