गुल्मीका स्थानीय तहमा खाद्य डिपो सञ्चालन

गुल्मी । गुल्मीका चार स्थानीय तहमा खाद्यको डिपो सञ्चालन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको हाटबजार, मदाने गाउँपालिका–२ को बाँझकटेरी, मालिका गाउँपालिका–४ को अर्खाबाङ र रुरुक्षेत्र गाउँपालिका ४ को बलेटक्सारमा खाद्य डिपो स्थापना भएर सञ्चालनमा आएका हुन् ।

खाद्य सुरक्षाको सुनिश्चितता योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुने नदिने उद्देश्यले खाद्य डिपो स्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखा प्रमुख पुष्पा पाण्डेयले जानकारी दिइन् ।

प्रत्येक डिपोमा एक स्थायी र एक जना दैनिक ज्यालादारी कर्मचारी परिचालन भएको उनले जानकारी दिए । अहिले खाद्य डिपोबाट चामल बिक्री भइरहेको छ ।

केही दिनमै चामलसहित दाल, नुन, तेल, चिनी लगायतका सबै खाद्य सामग्री सुपथ मूल्यमा बिक्री गरिने पाण्डेयले बताइन् । सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले ५ देखि ७ प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गर्नेछन् । डिलरलाई ५ र सहकारीलाई ७ प्रतिशत सस्तोमा खाद्य सामग्री बिक्री गर्ने उनले बताइन् ।

यसका साथै अन्य स्थानीय तहहरूबाट डिपो सञ्चालनका लागि माग आएमा कम्पनीसँग समन्वय गर्ने पाण्डेले बताइन् । मूल्यमा स्थिरता, सहज आपूर्ति र बजारीकरणमा टेवा पुर्‍याउने कम्पनीको उद्देश्य रहेकाले खरिद बिक्रीको काम डिपोबाट हुनेछ ।

बिस्तारै गाउँको रैथाने बाली खरिद गरेर बिक्री तथा प्रवर्द्धन पनि गर्ने आफूहरूको योजना रहेको उनले सुनाइन् । नजिकको डिपोबाट एक जनाले एक क्विन्टलसम्म खाद्यान्न खरिद गर्न पाउने व्यवस्था छ ।

गाउँको रैथाने बालीको खरिद तथा प्रवर्द्धन गर्ने गरी आफूहरूले योजना बनाएको र यहाँको उत्पादन निर्यात गर्ने गरी आफूहरू लागेको मालिका गाउँपालिका अध्यक्ष देबिराम अर्यालले बताए । मालिकाले गत वर्षदेखि आलुको ब्रान्डिङ र बजारीकरण सुरु गरेको छ ।

घरदैलोमै डिपो खुलेर सस्तोमा खाद्यान्न पाएकोमा निकै खुसी लागेको मालिका गाउँपालिका ४ का भेषबहादुर केसीले बताए । गाउँमा सस्तो मूल्यमा खाद्यान्न सामग्री पाइने भएपछि स्थानीय उत्साहित भएका छन् ।

नागरिकले सोधिखोजी गर्ने र आफूलाई आवश्यक सामग्रीको प्रतीक्षा गरिरहेको रुरुक्षेत्र गाउँपालिका ४ को खाद्य डिपो प्रमुख एलिना देवकोटाले बताइन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?