खजुरा । बाँके जिल्लामा लोपोन्मुख जातिका रुपमा रहेका मगन्ता समुदायका युवाले पुख्र्यौली पेसा छाड्न थालेका छन् ।
परापूर्वकालदेखि मगन्ता जातिले गाउँघरमा मागेर आफ्नो जीवन चलाउँदै आएकामा अहिले माग्ने पेसालाई छाडेर अन्यत्र काम गर्न थालेका हुन् । मगन्ता जातिका सन्तानको पछिल्लो समय शिक्षामा पहुँच भएसँगै पुख्र्यौली पेसा छाडेर श्रम गर्न थालेका छन् ।
मगन्ता जातिका अभिभावकले अहिले पनि मागेर गुजारा चलाउँछन् भने तिनका सन्तानले स्थानीयस्तर श्रम गर्नुका साथै कतिपय वैदेशिक रोजगारीका लागि जाने गरेका उनीहरुका अगुवा बताउँछन् ।
बाँकेको डुडुवा गाउँपालिका–६ पहाडीयनपुरु बासिन्दा ५५ वर्षीय मुनेर मगन्ताका बाबाआमाले मागेरै जीवन बताए । मुनेरले भने अहिले अटो रिक्सा चलाउँछन् । पुख्र्यौली काम नगरेर उनले रिक्सा चलाउनुका साथै बाख्रा र भैँसीसमते पालेका छन् ।
अटो चलाएर आएको आम्दानी तथा दूध बेचेर जीविकोपार्जन भइरहेको मुनेरले बताए । उनले भने, “कुनै बेला बाबासँग लागेर माग्न पनि नहिँडेका होइनन् तर धेरैले नराम्रो व्यवहार गर्ने, हेप्ने, गाली गर्न थालेपछि श्रम गरेर खाने सोच आयो । अहिले आफूले गरिरहेको काममा नै रमाइलो लाग्छ ।”
घर घर चाहार्ने कामले पेट पाल्न धौ हुने देखेपछि त्यो काम छाडेर अटो चलाउने र पशु पाल्ने व्यवसाय सुरु गरेको मनेरको भनाइ थियो । उनले भने, “विगतको पीडाले व्यवसायमा लाग्न प्रेरित गर्यो । अहिले सात जनाको परिवारको खर्च चलेको छ । आर्थिक स्थिति कमजोर भएकाले छोराछोरीलाई पढाउन भने सकेको छैन ।”
डुडुवा–६ का कासीराम मगन्ताले माग्ने काम छोडेर अरुको जग्गा अधिया (बटैया)लिएर खेती गर्न थालेको बताए । पैँतालिस वर्षीय कासीरामलाई माग्न जाँदा लाजसँगै हिनताबोध हुन्थ्यो । “हट्टाकट्ट छौँ । काम गर्न सक्दैनौँ ? भनेर जवाफ आउने गर्दथ्यो । पहिला माग्नु बाध्यता थियो, अहिले अरुको जग्गा खेती गर्छु” उनले भने ।
खेतीबाट फुर्सद भएको बेला भाडामा अटो रिक्सा चलाउने गरेको कासीरामले जानकारी दिए । “परिवारमा दुई छोरा, चार छोरी छन् । घरमा बङ्गुर पनि पालेको छु । बङ्गुर भने छोराछोरीले हेरिदिन्छन्”, उनले भने, “काम गर्न थालेपछि जीविकोपार्जनमा सहज भएको छ ।”
डुडुवा–१ चौफेरीका ३५ वर्षीय मुन्नालाल मगन्ताको अवस्था कासीरामसँग मिल्दोजुल्दो छ । मुन्नालालले माग्न छोडेको १८ वर्ष भइसकेको छ । उनले मजदूरी गरेर जीवन गुजारा गरिरहेको बताए ।
“आठ जनाको परिवार छ । राप्ती नदीको कटान क्षेत्रमा थोरै जग्गा छ । त्यही सरकारीपर्ति जग्गामा फुसको घर छ । विगत १८ वर्षदेखि माग्ने काम छाडेर रिक्सा भलाउने र पशुपालन गर्दै आएको छु”, उनले भने ।
पछिल्लो समय मगन्ता युवाले पुख्र्यौली माग्ने पेसा छोडेर आफूले रोजेको काम गर्न थालेका छन् । अधिकांस मगन्ताको भनाइलाई आधार मान्ने हो भने ७५ प्रतिशत मगन्ताले परम्परागत पूख्र्यौली काम छाडिसकेका छन् ।
करिब ५० प्रतिशत मगन्ता भूमिहीन र सुकुम्वासी रहेका उनीहरुको भनाइ छ । मगन्ताको डुडवा–६ हिरमिनियार र डुडुवा–१ होलियामा मात्रै बसोबास रहेको छ ।
लोपोन्मुख र सङ्काटोन्मुख जातिका रुपमा रहेका मगन्ताको पहिचान नै अहिले गुमनाम रहेको मगन्ताका अगुवा शोभाराम मगन्ताले बताए । “मगन्ताले महाउत पनि लेखाउने गर्दछन् । विशेषतः हात्ती डो¥याउने माहुत नै पछि मगन्ता भएका हुन्”, उनले भने ।
मगन्ता लोपोन्मुख, आदिवासी जनजाति तथा दलितको सूचीमासमेत नरहेका भन्दै सदियौँदेखि बसोबास गर्दै आएका जातिलाई राज्यले बतै सूचीकृत नगरेको मगन्ता समुदायले गुनासो गरेका छन् ।
यस जातिको कुनै पनि सूचीमा नभएपछि सामाजिक सुरक्षाभत्ता तथा राज्यबाट पाउने अन्यसेवा सुविधाबाट पनि वञ्चित हुनु परिरहेको शोभारामको भनाइ थियो । मगन्ता जातिलाई दलितसूचीमा समावेश गरिनुपर्ने उनको माग छ ।
आफूहरूलाई राज्यले लोपोन्मुख जातिमा सूचीकृत नगर्दा बालबालिका स्थानीय तहमार्फत पाउने विभिन्न सुविधाका साथै समुदायका मानिस सामाजिक सुरक्षा भत्तालगायत सुविधाबाट वञ्चित रहेका उनीहरुको गुनासो छ ।
डुडुवा–१ का वडाध्यक्ष पटेश्वर कुर्मीले मगन्ता समुदायको सामाजिक र आर्थिक अवस्था कमजोर रहेको भन्दै मगन्तालाई लोपोन्मुख जातिको रुपमा सूचीकृत गरेर आवश्यक सेवा सुविधा दिनका लागि पहल गर्ने बताए ।
गाउँपालिकाले लोपोन्मुख जाति उत्थान कार्यक्रममार्फत बजेट छुट्याउने गरेको उपाध्यक्ष साहिदा बानोले बताए ।