कृष्णनगर । कपिलवस्तुको शिवराज नगरपालिका–६ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडामा बसोबास गर्दै आएका चार सयजना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष माहेताब खाँले जानकारी दिए ।
वडास्तरीय रकमबाट यस वडाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको अध्यक्ष खाँले बताए । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनले ज्येष्ठ नागरिकहरूको आशीर्वाद ग्रहण गर्ने प्रत्यास गरिएको बताए ।
वर्षमा एकपटक ज्येष्ठ नागरिकको आशीर्वाद लिने परम्पराको थालनी गरेको बताउँदै वडाअध्यक्ष खाँले यसबाट अझ ऊर्जाशील भएर काम गर्ने हौसला प्राप्त हुने विश्वास व्यक्त गरे ।
सम्मानित ज्येष्ठ नागरिक तथा पूर्ववडाअध्यक्ष सन्त्रीप्रसाद कुर्मीले ज्येष्ठ नागरिकलाई माया गरेर यसरी सम्मान गरिएकामा धन्यवाद दिए । उनले आगामी वर्षमा यस्तै रचनात्मक कार्यक्रमबाट ज्येष्ठ नागरिकलाई खुशी पार्न सुझाव दिए ।

