जनताले समृद्धिको अनुभूति गर्न पाउनुपर्छ : दसौदी

लुम्बिनी । रोल्पा घर भएका कुमार दसौदी राष्ट्रियसभाका सांसद हुन । उनको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदैछ । त्यसैले उनले यसबीचमा आफूले संसदमा गर्न सकेका र नसकेका कामको स्वमूल्याङ्कन गर्न थालेका छन् ।

राष्ट्रियसभाको सांसदको रुपमा रहँदा दसौदी विभिन्न अनुभव वटुल्ने अवसर प्राप्त गरेको बताउँछन् । “जनप्रतिनिधिले सिक्नुपर्ने र जान्नुपर्ने धेरै कुरा रहेछन्, त्यो अनुभूत गर्ने अवसर प्राप्त भयो”, उनले भने । राष्ट्रियसभामा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने सांसद दसौदी बताउँछन् । सबै पार्टीले त्यस्ता व्यक्तिलाई स्थान दिनुपर्ने उनले जोड दिन्छन् ।

“राष्ट्रियसभामा विज्ञता हालि गरेका व्यक्तिको प्रतिनिधित्व अहिले नै होला भन्ने विश्वास छैन”, सांसद दसौदी भने। राष्ट्रियसभामा जनताको आवश्यकताअनुसारको प्रतिनिधित्व हुन नसकेको उनको ठहर छ ।

“संसद् कानुन बनाउने थलो हो । तर यहाँ देश र जनताका पक्षमा आवश्यक कानुन बनाउने कार्य प्राथमिकतामा परेको छैन”, सांसद दसौदीले भने । आफ्नो कार्यकालमा एउटा मात्र विधेयक राष्ट्रियसभाबाट पारित भएको उनले बताए । सरकारले विधेयक ल्याउन नसकेको नेता दसौदीको गुनासो छ ।

रोजगारको व्यवस्था गर्ने तथा आयआर्जनको उपायबारे सरकारको ध्यान जान नसकेको सांसद दसौदीले बताए । नीति निर्माण गर्न सरकारको पटक्कै ध्यान नपुगेको उनको गुनासो छ । “राष्ट्रियसभामा जनताका मुद्दा सम्बोधन गरिनु पर्छ”, उनी भन्छन् ।

“राष्ट्रियसभा विभिन्न विधेयकबारे छलफल गर्ने र निर्णय लिने ठाउँ हो । सरकारको विरोध र समर्थनका कुरा पनि बेला बेलामा भइरहन्छन् । अन्तिममा विधेयक पारित भने सर्वसम्मत गर्ने गरिएको छ । यो नै राष्ट्रियसभाको चरित्र हो”, सांसद दसौदीले भने ।

राष्ट्रियसभामा हरेक क्षेत्रका विज्ञ तथा राजनीतिभन्दा फरक हिसाबले सोच्ने व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने उनको धारणा छ ।“म राष्ट्रियसभामा आएपछि यस अवधिमा आएका विधेयकबारे आफ्नो सुझाव राखे ।

संसदमा सक्रियरुपमा सहभागिता जनाए”, नेता दसौदीले भने । उनको अनुभवमा प्रतिनिधिसभामा समझदारी र सहकार्य भन्दा पनि बहुमतको आधारमा निर्णय गर्ने गरेको पाइयो । यस्तो अवस्थामा देश र जनताको हितमा हुने गरी कानुन नबन्न पनि सक्ने उनको बुझाइ छ ।

जनताको अपेक्षा जनजीविकाका सवाल, विकास निर्माण, स्वास्थ्य, शिक्षालगायत भए पनि उल्लेख्य सुधार हुन नसकेको सांसद दसौदीले बताए । “यस विषयमा राष्ट्रियसभामा कुरा उठाए । त्यहाँ जति तर्क बहस गरे पनि उल्लेख्य उपलब्धि हासिल भएको जस्तो लागेन”, उनले भने ।

जनताका अपेक्षा असीमित भएकाले तिनलाई सम्बोधन गर्न सकिने जति एउटा जनप्रतिनिधिको हिसाबले सक्दो प्रयास गरेको नेता दसौदीले बताए । जनताका अपेक्षालाई प्राथमिकता निर्धारण गरेर सदनमा उठाउने तथा कानुन निर्माणमा सक्रिय भएको उनी बताउँछन् ।

“जनतामा निराशा र असन्तुष्टि हुनु स्वभाविक हो । यद्यपि जनताले खोजेको विकास र समृद्धिका लागि सरकार तथा संसद प्रयासरत रहनुपर्छ”, सांसद दसौदीले भने ।

हुर्कँदै गएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीयताप्रति जनताको अविश्वास र असन्तुष्टि देखिएको उल्लेख गर्दै उनले यसतर्फ सबै दल र जनप्रतिनिधिको ध्यान जानुपर्ने उनले बताए ।

दलका नेताहरुले आफ्ना क्रियाकलाप सच्याउनुपर्ने सांसद दसौदीको सुझाव छ । समृद्धिका लागि उत्पादन मुख्य कुरा भएको उल्लेख गर्दै उहाँले उत्पादनलाई प्राथमिकता नदिए मुलुक समृद्ध हुन नसक्ने बताए ।

पर्यटन क्षेत्रको पूर्वाधार विकास, ऊर्जा र जलस्रोतको पूर्वाधार निर्माण गरेर विद्युत् व्यापार बढाउने, उद्योग कलकारखानामा सहज विद्युत् आपूर्तिसँगै औद्योगिक विकास, रोजगारी सिर्जना गर्ने, जलस्रोतमा लगानी गरी सिँचाइको व्यवस्था गरेर कृषि उत्पादन बढाउने तथा खनिज पदार्थको उत्खननजस्ता कार्यमा सरकारले ध्यान दिए मात्र मुलुक समृद्ध हुने नेता दसौदीको बुझाइ छ ।

“राजनीति नितान्त सेवा हो । तर यहाँ धेरैले यसलाई पेसाको रुपमा लिएका छन् । यसलाई सेवाको रुपमा ठानेर देश र जनताको सेवामा समर्पित हुने तथा देश बनाउन लाग्नुपर्ने हुन्छ । तबमात्र देश बन्छ”, सांसद दसौदीले भने।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?