खजुरा । थारू समुदायको मुख्यपर्व माघीका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित भुवरभवानी मन्दिर परिसरमा आइतबारदेखि माघको ४ गतेसम्म माघी मेला लागेको छ ।
बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेसहित छिमेकी जिल्ला र भारतबाट भक्तजन यहाँ पुग्ने गरेका मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारूले जानकारी दिए ।
“यो मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको प्रचारप्रसारका लागि मेला आयोजना गर्ने गरेका छौँ”, उनले भने, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले भुवरभवानी मन्दिरको ऐतिहासिक महत्व रहेको भन्दै पुर्खौंदेखि लाग्दै आएको मेलाले यस क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
भुवरभवानी मन्दिर राप्तीसोनारीको प्रमुख ऐतिहासिक एवं धार्मिक धरोहर रहेको भन्दै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नाका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।
विसं २०१३ मा स्थापना भएको उक्त मन्दिरमा वर्षमा तीनपटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मेला आयोजक समितिले जनाएको छ । मेलामा थारू समुदायको कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति हुने गरेको छ ।
माघी पर्वका अवसरमा थारू गाउँमा हर्षोल्लासका साथ मनोरञ्जनसँगै विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सहयोग पुग्ने थारू अगुवा बडघर केवलसिंह थारूले बताए ।
उनका अनुसार थारू समुदायमा माघी पर्वको छुट्टै रौनकता छ । नयाँ वर्षका रुपमा लिइने माघीले थारू समुदाय तथा बस्ती उल्लासमय भएका छन् ।
दाङमा माघी हर्षोल्लासका साथ मनाउँदै
थारू समुखायको महान पर्व माघी आज दाङका थारू बस्तीमा हर्षोल्लासका साथ मनाइँदैछ । बिहान जिल्लाका विभिन्न थारू बस्तीका स्थानीय नदी, तलाउ, पोखरी, जलाशयमा गएर स्नान गरी पूजा गर्दै यो पर्व मनाइरहेका छन् ।
गएरातिदेखि नाचगान गर्दै माघी पर्व मनाउन थालेका उनीहरु अहिले आ–आफ्ना मतवा (गाउँका अगुवा) का घरमा जम्मा भई टीका लगाउन थालेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय श्याम चौधरीले आफूहरु मतवाको घरमा जम्मा भएर टीकासँगै आशीर्वाद ग्रहण गरिएको बताए । उनका अनुसार थारूले माघीका अवसरमा विशेष परिकार ढिक्री, सुँगुरको मासु, जाँड खाने र नाचगान गरी रमाइलो गर्ने प्रचलन रहेको छ ।
आजको दिनमा थारूले आफ्ना चेलीबेटीलाई घरमा बोलाउने, टीका लगाइदिने, चामल, नुन, तरकारी, गेडागुडी राखेर निश्राउ (खाद्य परिकार) बनाएर दिने गर्दछन् ।
नयाँ वर्षका रुपमा मनाउने यस पर्वमा थारूले वर्षभरि गर्ने कामको योजना बनाउने, नयाँ मतवाको चयन गर्नेलगायत काम गर्छन् । माघी पर्वलाई थारू समुदायको मौलिक संस्कृतिका रुपमा मनाइन्छ ।
पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पीठोको एक परिकार), माछालगायत परिकार बनाएर जाँड, रक्सीका साथै विभिन्न परिकार बनाएर खाने, रातभर ढुमरु (लोक बाजा) गाउने र नाचगान गर्ने प्रचलन छ ।
दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारूले यस पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।

