गुल्मीमा छोरी जन्मे खातामा १० हजार


गुल्मी । गुल्मीको एक पालिकाले छोरी जन्मे छोरीको खातामा १० हजार रुपैयाँ जम्मा गरिदिने नीति अघि सारेको छ ।

जिल्लाको कालिगण्डकी गाउँपालिकाले पालिकाभित्र छोरी जन्मिएमा छोरीको खाता खोलेर १० हजार जम्मा गरिदिने नीति लिएको गाउँपालिकाले जनाएको छ ।

अहिले छोरीको खाता खोलेर अक्षयकोषको रुपमा १० हजार राखिदिने र उसको खाता रोक्का गरिदिने गरी योजना बनाइएको स्वास्थ्य शाखाका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

अहिले राखिदिएको १० हजारबाट १५ वर्षपछि छोरीको नागरिकता बन्दा करिब ४० हजार रुपैयाँ पुग्ने भएकाले उच्च शिक्षा हासिल गर्न थप टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।

छोरीको नागरिकता बनेपछि छोरीले उक्त रकम निकाल्न पाउने भएकाले अन्य परिवारका सदस्यले निकाल्न नपाउने गरी कुमारी बैंकमा खाता खोल्ने र उक्त रकम जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले कार्यविधि पास भइसकेकाले छोरीको खातामा रकम जम्मा गरिदिन कुनै कानूनी समस्या नभएको बताए ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार छोरी जन्मिँदा समाजमा फरक दृष्टिकोणले हेर्ने कुप्रचलन कायमै रहेकाले त्यसको अन्त्य गर्न यस्तो नीति लिइएको हो ।

गत आर्थिक वर्षमा गाउँपालिकाभित्र ४० जना छोरी जन्मिएको स्वास्थ्य शाखाको तथ्याङ्कमा छ । उनीहरुलाई गाउँपालिकाले ५ हजारका दरले उपलब्ध गराएको थियो । सीधै ५ हजार उपलब्ध गराउँदा यसको औचित्य नदेखिएकाले यसलाई अहिले परिमार्जन गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

यस आर्थिक वर्षको हालसम्म पालिकाभित्र २० जना छोरी जन्मिएको निवेदन प्राप्त भएकाले १० हजार जम्मा गरिदिने कार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख थापाले बताए ।

पालिकाले उपाध्यक्ष कोसेली कार्यक्रमअन्तरगत सुत्केरीलाई भेट्न जाँदा भाले कोसेली लिएर भेट्न जाने गरेको उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?