बुटवल । बुधबार दाङको घोराही पुगेका कांग्रेस नेता बिमलेन्द्र निधिले भद्र सहमतिअनुसार नै सरकार अघि बढ्नुपर्ने बताए । उनले तत्कालिन समय भएको सहमतिअनुसार नै सरकारको नेतृत्वमा आलोपालो हुनुपर्ने बताए ।
उनले भने, “कतिपयले गठबन्धनको काम छैन, यो सरकार विघटन गर्नुपर्छ भनेको सुनिन्छ तर, अहिले त्यो उपयुक्त नीति र धारणा होइन । कांग्रेस भद्र सहमतिलाई पालना गराउने पक्षमा पूर्ण प्रतिबद्ध छ । हामी दाँयाबाँया लाग्नुहुन्न ।”
उनले भद्रसहमतिअनुसार अबको डेढवर्षपछि माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने बताएका छन् । उनले भने, “हामीबीच भएको समझदारीअनुसार पहिलो चरणमा माओवादी अध्यक्ष प्रचण्ड, दोस्रो चरणमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री हुने र चुनाव गराउने छ । अहिलेसम्मको समझदारी यही हो ।”
के थियो त्यो भद्र सहमति ?
पाँच दलीय कांग्रेस–माओवादी गठबन्धनबीच २०७९, मंसिरको चुनावअघि नै चुनावपछिको सरकारको नेतृत्वबारे करिब सहमति बनेको थियो । तर चुनावी परिणाम गठबन्धनको अनुकुल आएन ।
पूर्वसहमतिअनुसार अगाडि जाने सन्दर्भमा किचलो देखिएपछि गठबन्धन विघटित बन्यो । २०७९ पुस १० मा एमाले–माओवादी एकै ठाउँमा आए । एमाले–माओवादी गठबन्धनभित्र अविश्वास सिर्जना भएपछि साढे दुई महिनाअघि पुस १० मा बनेको एमाले–माओवादी गठबन्धन राष्ट्रपति निर्वाचनसँगै फागुन २५ मा आउँदा विघटित बन्यो ।
एमाले–माओवादी गठबन्धन विघटित भएपछि पुनः कांग्रेस–माओवादी गठबन्धन ब्यूँतियो । नेताहरुले बताएअनुसार २०७९ फागुनमा दलहरुबीच पाँच वर्षकै लागि सरकारको आलोपालोबारे ‘भद्र सहमति’ बनेको थियो ।
तत्कालिन समय गठबन्धनका मुख्य दल माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको थियो । जसअनुसार साढे दुई वर्ष प्रचण्ड, त्यसपछि एक वर्ष माधव नेपाल र अन्तिम डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भद्र सहमति बनेको थियो ।
तर, पुनः गठबन्धन ब्यूँतिएको एक वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री प्रचण्डका कारण कांग्रेस झस्किएको छ । प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममार्फत गठबन्धन सरकार पाँचै वर्ष टिक्ने मात्रै बताएका छैनन् आफूँ पनि पाँचै वर्ष प्रधानमन्त्री हुनसक्ने बताउन थालेका छन् । अहिलेको परिस्थिति समेत प्रचण्डका निम्ति केही अनुकुल छ ।

