बुटवल । रुपन्देहीको भैरहवामा सञ्चालित पाँचतारे होटल टाइगर वान (प्यालेस) ले सरकारलाई क्यासिनोको ५० करोड बक्यौता तिरेको छ ।
टाइगर प्यालेसमा सञ्चालित क्यासिनोले तिर्न बाँकी २२ करोड ६० लाख रुपैयाँ बक्यौता भुक्तानी गरेको पर्यटन विभागका निर्देशक कालिबहादुर भुजेलले जानकारी दिए । बैंक ग्यारेन्टीवापत २५ करोड ९० लाख रुपैयाँ समेत तिरेको छ ।
बक्यौता भुक्तानी र बैंक ग्यारेन्टीसमेत जोड्दा टाइगर प्यालेसले एक साथ करिब ५० करोड तिरेको उनले जानकारी दिए । विगतमा सञ्चालित क्यासिनोको बक्यौता होटलले नै तिरेपछि पुनः क्यासिनो सञ्चालनको बाटो खुलेको छ । सोहीअनुसार होटललाई क्यासिनो चलाउन दिने लाइसेन्स समेत नवीकरण गरिएको विभाग निर्देशक भुजेलले बताए ।
भैरहवाको टाइगर प्यालेस र काठमाडौंको सांग्रिला होटलमा एकै कम्पनी एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो । एसएचएलबाट नेपालमा लगानी भएको टाइगर प्यालेसलाई हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले खरिद गरी सञ्चालनमा ल्याएको हो ।

