दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ७ प्रसेनीमा तीब्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको छ। सोमबार बिहान साढे १० बजेतिर तुलसीपुरतर्फ जाँदै गरेको रा २ प ७१७३ नम्बरको मोटरसाइकल तिब्र गतिका कारण अनियन्त्रित भई पसलमा छिरेको हो ।
अनियन्त्रित मोटरसाइकल पसलमा छिर्दा प्रसेनीको घुम्तीनजिकै रहेको लोकबहादुर हलवाईको पसलमा क्षति हुनुका साथै तीनजना घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर– १८ ग्वारखोलाका १९ वर्षीय मनिश विक, मोटरसाईकलमा सवार सोही ठाउँका १७ बर्षीय सुरज महत र पसल संचालक ४५ बर्षीय लोकबहादुर हलवाइ रहेका छन् ।
उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। टाउको, बाँया हात र खुट्टामा चोट लागेका चालक विकको अबस्था मध्याम छ । मोटरसाइकलको पछाडी सवार महतको बायाँ खुट्टामा सामान्य चोट लागेको छ भने पसल संचालक हलवाईको दायाँ खुट्टामा सामान्य चोट लागेको छ ।

