पढ्ने रहर पूरा गर्दै गृहिणी

देउखुरी । राप्ती गाउँपालिका–१ पाखापानीका लक्ष्मीदेवी कार्की ५३ वर्षकी भइन् । सानो उमेरमा पढ्न नपाएका कारण राप्ती–१ पुल्चोक भालुबाङमा रहेको श्री स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयमा कक्षा ३ मा उनी भर्ना भएकी छन् ।

गत वर्षदेखि उनले पढाइ सुरु गरेकी हुन् । दुई छोरा र एक छोरीकी आमा कार्कीले सानो उमेरमा विवाह भएका कारण पढ्न पाएकी थिइनन् ।

“सानैमा विवाह भयो, छोराछोरी हुर्काउँदै व्यापार–व्यवसाय गर्न व्यस्त भयौँ, अहिले छोरछोरी पनि हुर्किए, कमाई गर्ने भए व्यापार–व्यवसाय पनि छाडेर पढ्ने रहर पूरा गर्न थालेको छु”, उनले भनिन् ।

उनले पढेर जागिर खानलाई नभई दुई–चार अक्षर चिनेर लेख्न सकिएला भनेर पढ्न आएको बताइन् । जेठो छोराबुहारी अमेरिका र कान्छो छोराबुहारी अष्ट्रेलिया रहेकी उनले जानकारी दिइन् ।

विदेशमा रहेका छोराबुहारीलाई मोबाइलमा म्यासेज लेख्न सक्ने भएको उनले बताइन् । “पढ्ने रहर धेरै थियो, समय मिलेको थिएन, अहिले फुर्सद निकालेर पढ्न आउँदा धेरै खुसी लागेको छ”, उनले भनिन्, “दिनभरिको समय सदुपयोग भएको छ, रहरले पढ्न थालेको भएर होला रमाइलो लागेको छ ।”

शिक्षकले राम्रोसँग सिकाउने गरेको र नेपालीभन्दा अङ्ग्रेजी सजिलो लाग्ने उनले बताइन् । उनका अनुसार समयले साथ दिएमा १० कक्षा पूरा गर्ने इच्छा रहेको छ । बर्दिया घर भएकी पार्वती मगर २७ वर्ष भइन् ।

५ कक्षासम्मको पढाइ पूरा गरेकी उनले कामको सिलसिलामा दाङ आएकी छन् । उनी पनि सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । विवाह भएर बीचैमा पढाइ छुटेकाले पढ्ने रहर पूरा हुन नसकेको उनले बताइन् ।

गृहिणी महिला विद्यालयमा आफूजस्तै पढाइ बीचैमा छुटेका महिलालाई पढाउने थाहा पाएपछि सोही विद्यालयमा भर्ना भएको पार्वतीले बताइन् । कक्षा २ मा पढ्ने छोरालाई विद्यालय पठाएर आफू पनि विद्यालय जाने गरेको उनले बताइन् ।

उनले बीचैमा पढाइ छुटेका महिलालाई पढाइ पूरा गर्न दिएकामा विद्यालयप्रति आभार व्यक्त गरिन् । समयले साथ दिएमा माध्यमिक तहको पढाइ पूरा गर्ने रहर रहेको उनले बताइन् ।

कक्षाकोठा अभाव

कक्षा १ देखि ८ सम्ममा अध्ययन गर्ने गृहिणी विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको सोही विद्यालयका सहायक प्रधानाध्यापक रीमा रानाले बताइन् । उनका अनुसार कक्षा कोठा अभाव भएका कारण ४ कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको छ ।

छुट्टाछुट्टै कक्षालाई एउटैमा राख्दा पढाउने शिक्षक र विद्यार्थीलाई असजिलो भएको सहायक प्रधानाध्यापक रानाले बताइन् ।

“उहाँहरु सबैलाई एउटै कक्षामा राखेर पढाउने गरेका छौँ”, उनले भनिन्, “साना बच्चासँग राखेर पढ्दा गृहिणी विद्यार्थीले अप्ठेरो मान्ने भएका कारण उहाँहरुलाई अलग्गै राखेका हौँ, कक्षा कोठा अभाव भएकाले एउटै कोठामा राख्नुपर्ने बाध्यता रहेको छ ।”

गृहिणी विद्यार्थीहरुलाई विद्यालयले किताब निःशुल्क दिएको छ । विद्यालय पोसाक अनिवार्य नभएकाले उनीहरुले आफ्नो अनुकूलको लगाउँछन् ।

विसं २०६७ देखि गृहिणी विद्यार्थीका लागि पढाइ सुरु गरेको उनले बताइन् । सुरु–सुरुमा ८०/८५ जनासम्म गृहिणी विद्यार्थी आउने गरेकामा यस वर्ष अहिलेसम्म २० गृहिणी विद्यार्थी अध्ययन गर्न आएकी सहायक प्रअ रानाले बताइन् ।

बिहान १० देखि अपराह्न ४ बजेसम्म पढाइ हुने सो विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने गरेको उनले बताइन् । उनका अनुसार विद्यालयका शिक्षक सबै महिलामात्रै छन् । पहिले निजीमा रहेका शिक्षकलाई गाउँपालिकाले सेवासुविधा दिए पनि त्यो पर्याप्त नभएको उनले बताइन् ।

केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोग मिलेमा विद्यालयलाई नमूना बनाउने लक्ष्य रहेको सहायक प्रधानाध्यापक रानाले बताइन् । उमेर ढल्केसँगै विद्यालय आउन महिला विद्यार्थीलाई सम्मानका साथ शिक्षण सिकाइ गराउने गरेको र खाजाको व्यवस्था गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?