back to top

दुई तहका विद्यार्थीलाई एउटै कक्षामा पढाइ

तुलसीपुर । दाङको राप्ती गाउँपालिका–४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बीचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ ।

गाउँ ठूलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ ।

कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल २१ जना मात्रै विद्यार्थी छन् । शिशु कक्षामा एकजना पनि विद्यार्थी छैनन्, भने कक्षा १ मा छ, कक्षा २, ३ र ४ मा तीन÷तीन र कक्षा ५ मा छ जना विद्यार्थी छन् । तीमध्ये विद्यालयमा केही मात्रै आउँछन् ।

“सबै विद्यार्थी विद्यालय आउने गरेका छैनन् । त्यसैले पनि दुई तहका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता छ”, प्रधानाध्यापक बुद्धिमान चौधरीले भने । कहिले कक्षा १ र २ लाई र कहिले २ र ३ लाई सँगै राखेर पढाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

“विद्यार्थी थोरै छन्, कहिल्यै १ र २ तथा कहिले २ र ३ लाई एउटै कक्षामा राखेर पढाउने गरेका छौँ”, उनले भने, “यसले गर्दा विद्यार्थीहरु पढाइमा अन्यौल पर्ने गर्छन् ।”

गत वर्ष ४५ जना विद्यार्थी रहे पनि यस वर्ष विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको प्रअ चौधरीले जानकारी दिए । नजिकै बोर्डिङ स्कुल खुलेकाले पनि सबै विद्यार्थी उतै गएका उनको भनाइ छ । उनका अनुसार विद्यालयमा तीनजना शिक्षक कार्यरत छन् ।

नयाँ पुस्ताले विद्यालयको नेतृत्व हाँकेमा सामुदायिक विद्यालयको अवस्था सुधार हुन सक्ने प्रअ चौधरीले अनुभव सुनाए । “हामी बुढो भइसक्यौं, मलाई अन्त सरुवा गरे हुन्थ्यो”, उनले भने, “विद्यालयको नेतृत्व युवाले गर्नुपर्छ, अनि मात्रै सुधार हुन्छ ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?