गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिस्पर्धा, चुनाव र आन्तरिक लोकतन्त्र एमालेको अभिन्न अङ्ग भएको बताएका छन् ।
उनले आजको परिस्थतिमा युग, राष्ट्र र पार्टी पङ्तिले पार्टीमा आन्तरिक एकता र सहमतिको माग गरेको बताए ।
आज नेकपा एमाले गुल्मीको १२ औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले नेकपा एमाले सरकारमा हुँदा र नहुँदा सधैँ जनताका समस्या समाधान गर्ने पार्टी भएको बताए । उनले एमाले सिङ्गो समाजमा उन्नत लोकतन्त्रका लागि पक्षपोषण गर्ने पार्टी भएको धारणा राखे ।
नेता ज्ञवालीले कतिपय कुरा तत्कालीन सन्र्दभ, परिस्थिति र आवश्यकताले तय गर्ने भएकाले एउटै कुरा सधैँ निरपेक्ष ढङ्गले सत्य हुन नसक्ने बताए । गएको तीन वर्षयता एमालेलाई एकदमै पुछारमा पारिएको र त्यो अवस्थाबाट एमालेले ‘बाउन्स ब्याक’ गरेको उनको भनाइ थियो ।
“एमाले यति ज्याद्रो छ कि धुलोमा पछारिए पनि टकटकाएर उठ्छ, खडेरीमा सुके पनि फेरि दुबोजस्तै मौलाउँछ”, उनले भने । प्रतिपक्षमा रहँदा छ वटा दलहरु मिलेर घेराबन्दी गर्दा पनि एमाले चक्रब्यूलाई तोडेर अघि बढेको उनको भनाइ थियो ।
नेकपा एमालेलाई आफ्नो पार्टी पङ्तिको शुद्धतामाथि पूर्ण विश्वास रहेकाले मुलुकको समृद्धि र विकासका लागि एमाले सधैँ लागि परेको उनले बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट, पद्मा अर्याललगायतका केन्द्रीय नेताहरुले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

