खजुरा । नेपाली कांग्रेस बाँकेले स्थानीय तहको सेवा प्रभावकारी बनाउने उद्देश्यले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेको छ ।
स्थानीय तहमा प्रवाह हुने सेवाको गुणस्तरीयता, हालसम्म भएका प्रगति र पार्टीसँगको समन्वयका विषयमा छलफल गरिएको कांग्रेस जिल्ला सभापति नारायणप्रसाद गौडेलले बताए ।
“प्रमुख–उपप्रमुखले निर्वाचनपश्चात् गरेका प्रतिबद्धता के–कति पूरा भए, के–कति पूरा हुने चरणमा छन्, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा भएका प्रगति, भौतिक र मानवीय विकासको सूचकलगायत सुशासन र समग्र समृद्धिका हिसाबले भए गरेका प्रगतिबारे जानकारी लिने उद्देश्यले उहाँहरुसँग बैठक गरेका हौँ”, सभापति गौडेलले भने ।
उनले जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्न भनेको बताए । उनले भने, “अहिलेसम्म भएका प्रगति, चुनौती र भावी योजनाबारे जनप्रतिनिधिले हामीलाई जानकारी गराउनुभएको छ । सीमित स्रोतसाधनका बाबजुद जनअपेक्षाअनुसार काम भइरहेको छ ।”

