गुल्मी । आर्थिक हिसाबले सक्रिय जनसंख्यालाई उत्पादनमा जोड्नको लागि मुसिकोट नगरपालिकाले प्रत्येक वडामा ‘एक वडा, एक पहिचान कार्यक्रम’ अभियान सञ्चालन गर्ने भएको छ ।
दोस्रो नगरसभाको १६ औं अधिवेशनमा नगरपालिका प्रमुख जिवलाल खरेल जीवनले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कफीको जननी मुसिकोटलाई राष्ट्रिय पहिचान दिन ‘कफी लगाऔं, आम्दानी बढाऔं’ कार्यक्रमलाई पालिकाको गौरवको कार्यक्रमको रुपमा अगाडि बढाईने उल्लेख छ ।
‘एक वडा एक लिडर विद्यालय’ विकास गरी लिडर विद्यालय मार्फत फिडर विद्यालयलाई आवश्यक सहयोग समन्वय सहकार्य गर्ने र विद्यालयको शैक्षिक क्षेत्रमा सुधार गरिने भएको छ ।
‘शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई रोजगारीसंग, रोजगारीलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोड्न’ विद्यालयमा विभिन्न शैक्षिक कृयाकलाप संचालन गरिने समेत नीति मुसिकोटले लिएको छ ।
‘जिरो होम डेलिभरी’ स्थानीय तह घोषणाको लागि आवश्यक मापदण्डलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन, ‘विद्यालय साथी शिक्षा कार्यक्रम’ संचालन गरि ‘किशोर किशोरी मैत्री स्वास्थय संस्थाको रुपमा स्वास्थय संस्थालाई स्तरोन्नति गरिनेछ ।
‘आधारभुत औषधी उपचार पाउने जनताको आधार ः वस्ती वस्तीमा डाक्टरी सेवा, घर घरमा स्वास्थय स्याहार’ कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने, ‘विपत र गरिबिमा हाम्रो नगरको भरः आवास क्षेत्र र शैचालय सुधार, घर नभएकालाई घर’ कार्यक्रमलाई निरन्तरता दिने, ‘हाम्रो सडक, हाम्रो सहभागिता, स्तरीय सडक हाम्रो प्रतिवद्धता’ को नीतिसहित पालिकाभत्रि सडक निमार्ण गर्दा स्तर अनुरुपका नाली निमार्णलाई अनिवार्य गर्ने नगरले आफ्नो निति तथा कार्यक्रममा समावेश गरेको छ ।
निति तथा कार्यक्रम उपर भएको छलफलमा सदस्य हरिहर सापकोटा, रविन्द्र केसी, थम्मन बहादुर घिमिरे क्षेत्री, देव बहादुर रायमाझी, मनरुपा सापकोटा, भुमा गुरुङ, रमेश विक, पाराश्वर खरेल र दान बहादुर केसीले समसामाहिक विषयसहित निति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
निति तथा कार्यक्रमको छलफलमा सहभागिको जवाफपछि मुसिकोटको आर्थिक वर्ष ०८१/८२ को निति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नगरपालिकाले आगामी असार १० गते बजेट समेत सार्वजनिक गर्ने नगरप्रमुख जिवलाल खरेल जीवनले जानकारी दिए ।
हेर्नुहोस नीति तथा कार्यक्रमको पूर्णपाठ:

