एसईईमा अनुत्तीर्ण हुने विद्यार्थी लुम्बिनीका सबैभन्दा धेरै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ ।

लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

मधेश प्रदेशमा ४२ हजार २८६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मधेशबाट गत चैतमा सम्पन्न परीक्षामा ७९ हजार ५९२ विद्यार्थी सहभागी भएका थिए ।

त्यसैगरी कोशी प्रदेशका ७५ हजार ९८८ विद्यार्थीमध्ये ३९ हजार ८९५ विद्यार्थी अनुत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० ले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका ३६ हजार ४१० विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना विद्यार्थीले परीक्षा दिएका थिए । बागमती प्रदेशका कुल ९९ हजार ८७२ विद्यार्थीमध्ये ३३ हजार ८४३ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

कर्णाली प्रदेशमा २० हजार ३८० विद्यार्थी अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । कर्णालीबाट गत चैतमा भएको परीक्षामा ३५ हजार ३४ विद्यार्थी सहभागी भएका थिए ।

गत चैतमा भएको परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

दुई विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले साउन १८ र १९ गते पुरक परीक्षा दिन पाउने भएका छन् । यो वर्ष १ लाख १५ हजार ८३४ जना विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् ।

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले एक विषयमा पुरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या ६७ हजार ७९३ रहेको बताए । त्यस्तै ४८ हजार ३८ जनाले दुई विषयको पुरक परीक्षा दिनेछन् ।

नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिए । ‘हामीले अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था यसपटकदेखि गरेका छौं । यसपटकबाट पुनर्योग गर्न विद्यार्थीहरु लाइन लाग्नुपर्ने अवस्था हटाएका छौं’, उनले भने ।

पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने शर्माले जानकारी दिए । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

कुन विषयमा कति विद्यार्थी ‘फेल’ ?

एसईईमा अनिवार्य विषयमै सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड पाएका छन् । कुनै एउटा विषयमा ननग्रेड पाउने विद्यार्थी पनि कक्षा ११ पढ्न पाउने छैनन् ।

कक्षा १० मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक शिक्षालाई मुख्य अनिवार्य विषयका रुपमा पढाउँदै आएको छ ।

नतिजाअनुसार अनिवार्य गणितमा सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड (एनजी) पाएका छन् । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको हो ।

अनिवार्य गणित परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए । अनिवार्य गणितपछि अनिवार्य विषयकै रुपमा पढाइ हुँदै आएको विज्ञान तथा प्रविधि विषयमा समेत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन् । अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षामा ४ लाख ६४ हजार ३३२ जना विद्यार्थी सहभागी थिए ।

त्यस्तै, अनिवार्य अन्तर्गत नै रहेको अंग्रेजी विषयमा १ लाख १३ हजार ३८३ जना अनुत्तीर्ण भएका छन् । अनिवार्य अंग्रेजी विषयको परीक्षामा ४ लाख ६४ हजार ७१९ जना विद्यार्थी सहभागी थिए । त्यस्तै सामाजिक अध्ययनमा ७३ हजार ८७७ जना र अनिवार्य नेपालीमा ६९ हजार ५३२ जना विद्यार्थीले ननग्रेड पाएका छन् ।

अनुपातका रुपमा अनिवार्य विषयको तुलनामा ऐच्छिक विषय लिएका विद्यार्थीको अनुत्तीर्ण दर कम छ । गणित, अर्थशास्त्र, वातावरण, भूगोललगायत विषय विद्यार्थीले ऐच्छिक रुपमा छनोट गरेर पढ्न पाउँछन् ।

नतिजाअनुसार अर्थशास्त्रमा ६९ हजार ४१६ जना विद्यार्थीले एनजी अर्थात् ननग्रेड पाएका छन् । ऐच्छिक अर्थशास्त्र विषयमा २ लाख २७ हजार ८४० जना विद्यार्थी सहभागी थिए ।

त्यस्तै, ऐच्छिक गणितमा २० हजार ३५२ जनाले एनजी पाएको बोर्डले जानकारी दिएको छ । यो विषयमा कूल विद्यार्थीमध्ये १ लाख ६० हजार २६९ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

ऐच्छिक वातावरण विषयमा ३ हजार ५११ जनाले एनजी ल्याएका छन् । यो विषयमा २१ हजार १३० जना विद्यार्थी सहभागी थिए ।

दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीको लागि १८ र १९ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले आगामी चैतमा हुने परीक्षामा एनजी ल्याउने विषयको मात्र परीक्षा दिन पाउनेछन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गरिएको छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था बोर्डले गरेको छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।

एसईई नतिजा केमा, कसरी हेर्ने ?

एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ ।

कार्यालयले जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा।लि।मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन् ।

त्यस्तैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, नेपाल टेलिकम, खल्ती, इसेवा, एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा विवरण हेर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?