बुटवल । चक्कु प्रहरबाट घाईते भएका राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्वसदस्य रवि थापाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–७ का ३६ वर्षीय थापामाथि गत जेठ २ गते बुटवल कालिकानगरको एक रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो । उनको उपचारको क्रममा मंगलबार (असार १८ गते) बिहान निधन भएको युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले जानकारी दिए ।
उनले घटनामा संलग्नको हालसम्म पनि खोजी कार्य नहुनु दुःखद विषय रहेको बताउँदै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि आग्रह गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण गराइएको बताए ।
रेष्टुरेण्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचान समेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरु पक्राउ नगरिएको युवा संघको गुनासो छ । प्रहरी अनुसन्धानप्रति प्रश्न उठ्नेगरी गतिविधि भएकाले संगठनले प्रहरी कार्यालयमै पुगेर ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “अनुसन्धान मार्फत अपराधीहरुलाई सजाय दिने काममा ढिलासुस्ती र लापरवाही भएको खण्डमा संगठनले कडा कदम चाल्ने विषय समेत जानकारी गराइएको छ ।”
घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्तिसहित आवश्यक कानूनी कारवाही गर्न युवा संघ रुपन्देहीले माग गरेको छ । सो घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।