चितवनको पहिरोमा परेका दुवै बस त्रिशूलीमा खसेको आशंका, करिब ६५ यात्रु बेपत्ता

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको यकिन विवरण भने थाहा हुनसकेको छैन ।

दुवै बस र यात्रुहरुको अवस्था अज्ञात छ । प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘हामी घटनास्थलमा छौं । पहिरो पन्छाउँदै खोजी कार्य जारी छ ।’

जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारमा ७५ जनाको टोली खटाइएको र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको जनाएको छ ।

“म त बाँचेँ, सँगैका साथी बेपत्ता भए”

काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् ।

रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्‍याइएको छ ।

अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा सिसवाधमौराका एक यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका छन् ।

ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । उनले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् ।

एक भिडियोमा उनलाई अरु यात्रुहरुले ‘सामानको के कुरा ज्यान जोगिनु ठूलो कुरा हो’ भन्दै सम्झाएको सुनिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?