back to top

निर्मलादेवी कुर्मीको हत्या आरोपित कांग्रेस सांसद बादशाह बने मन्त्री

बुटवल । बाँकेकी निर्मलादेवी कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा कुर्मी नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् । उनले आज मुख्यमन्त्री आचार्यसँगै प्रदेश प्रमुख अमिक शेरचनबाट विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।

कुर्मी प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्ने समयमै विरोध भएको थियो । तर, कांग्रेस–माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र नं. ३ ‘ख’ बाट निर्वाचित भएका थिए ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुरकी निर्मलाको शंकास्पद मृत्यु र सम्पत्ति हड्प्नुमा बादशाह कुर्मीको संलग्नता रहेको भन्दै बाँकेकै अधिकारकर्मी रुवी खानले निरन्तर आन्दोलन गर्दै आइरहेकी छन् ।

राजनीतिक दलको आडमा अनुसन्धान नगरिएको भन्दै २०७८ सालमा खानसहित बाँकेका १४ जना तीन साता पैदल यात्रा गर्दै काठमाडौं पुगेर माइतीघर मण्डलमा आन्दोलन र धर्ना दिएका थिए ।

धर्नापछि गृहमन्त्रालयले मन्त्रालयका तत्कालीन सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । २०७८ कात्तिक १४ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाउँदै निर्मला कुर्मीलाई बेपत्ता पार्ने काममा कांग्रेस नेता बादशाह कुर्मी लगायतका व्यक्तीहरु सम्लग्न रहेको उल्लेख गरेको थियो।

प्रतिवेदनमा ‘विधवा तथा एकल महिला निर्मला कुर्मीमाथि बादशाह कुर्मी, कुँवर बब्बन सिंह, धिरेन्द्र सिंह, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी लगायतका ८ जनाले कुटपिट गरी सम्पत्ति खाने नियतले सम्पूर्ण कागजातहरू नागरिकता, लालपुर्जा, नाता कायमको कागज जबरजस्ती खोसेर लगे,’ भन्ने उल्लेख छ।

सम्पूर्ण कागजात खोसेर लगेपछि निर्मलाले पटकपटक छलफल गर्न खोजेको तर उनीहरूले निर्मलाको कुनै पनि कागजात नदिने, घरमा बस्न पनि नदिने र उल्टै धम्की दिने गरेको प्रतिवेदनमा उल्लेख छ।

निर्मलाको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा हेर्दा सम्पत्ति हडप्ने नियत देखिएको भन्दै त्यसबारे विस्तृत अनुसन्धान गरी सबै आरोपीलाई अविलम्ब पक्राउ गर्न प्रतिवेदन मार्फत समितीले सुझाव दिएको थियो।

धम्कीको क्रम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेसमेतको पहलमा निर्मलालाई उद्धार गरी सेफ सेल्टरमा राखिएको समेत छानबिन समितिले भनेको छ।

‘निर्मलाले आफ्ना कागजात पाएको केही महिनामा उनी हराएको भन्ने बुझियो। बेपत्ता भएपछि खोजतलासका लागि प्रहरी लगायत निकायमा कुनै लिखित निवेदन परेको छैन। मौखिक रूपमा अधिकारकर्मीको तर्फबाट आवाज उठाइरहेको भन्ने बुझियो। छलफल तथा अध्ययनबाट निर्मलाका पति र छोराहरूको मृत्युपश्चात निजको श्रीसम्पत्ति हडप्ने उद्देश्यले माथि उल्लिखित क्रियाकलापहरू भएको भन्ने बुझिन आयो,’ प्रतिवेदनमा उल्लेख छ।

निर्मला कुर्मीको न्यायका लागि अभियान चलाएकी अधिकारकर्मी रुवी खांनले न्यायको आन्दोलनमा सरकारले पटक पटक धोका दिएको र मान्छे हत्या जस्तो जघन्य अपराधमा सम्लग्नलाई पुरस्कार दिएको भन्दै आफुहरुको आन्दोलनमा साथ दिन सबैलाई आग्रह गरेकी छन्।

निर्मलादेवी कुर्मीको हत्या आरोपित कांग्रेस सांसद बादशाह बने मन्त्री - Lumbini News
प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै सांसद बादशाह कुर्मी

उनले भनिन, “एकल महिलालाई अपहरण, शरीर बन्धक, कर्तव्य गरी हत्या गर्ने मुख्य अभियुक्त बादशाहलाई पहिले सांसद बनाइयो, अहिले मन्त्री बनाइँदै छ, त्यो भन्दा कानुनको अवहेलना के होला ?”

पछिल्लो पटक अधिकारकर्मी रुवी खान लगायत १२ जना अधिकारकर्मीहरु अनसन बसेपछि तत्कालिन गृहमन्त्री रवि लामिछानेले गएको ११ गते लिखित सहमति गरेर अपराधमा सम्लग्न जोसुकै भएपनि कानुनको दायरामा ल्याउने वचन दिएका थिए।

१८ दिन अनसन बसेका रुवी खानहरु अनसन तोडेर नेपालगन्ज फर्केपछि उक्त सहमती मन्त्रालयमै थन्किएको गुनासो रुवी खानको छ।

के हो घटना ?

श्रीमानको ०६२ मा मृत्यु भएपछि निर्मलादेवी आफ्ना दुई छोराहरु १८ वर्षका रामसागर र १४ वर्षका सुरेशसँगै बस्दै आएकी थिइन् । ०६६ मंसिरमा १० दिनको अन्तरालमा दुई छोराहरुको रहस्यमय रुपमा मृत्यु भएपछि सहाराविहीन बनेकी थिइन् ।

त्यसपछि निर्मलाको घर र ४ बिघा जग्गा हडप्न गिरोह नै सक्रिय भएको थियो । निर्मलाले आफू असुरक्षित भएको भन्दै २०६८ असोज ३० गते जिल्ला प्रशासनमा उजुरी दिएकी थिइन् ।

प्रहरीले उजुरीको सुनुवाइ नगरेको र २०७५ सालपछि उनी एकाएक गाउँबाट सम्पर्कविहीन बनेकी थिइन् । २०७६ चैत १४ गते उनको भारतमा मृत्यु भएको शंकास्पद सूचना प्रहरीसमक्ष पुगेपछि उनको हत्या गरिएको आशंका समाजमै भएको थियो ।

त्यसपछि स्थानीयको दवावपछि २०७७ चैत २० गते अधिकारकर्मी खानसहितका स्थानीयले कांग्रेस नेता बादशाह कुर्मीसहित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बबनसिंह ठकुरी, उर्मीला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको थियो ।

बादशाह र निर्मला नजिकका छिमेकी थिए । त्यसअघि फाट्टफुट्ट मात्र घरमा आउजाउ गर्ने बादशाह श्रीमानको मृत्यु भएपछि निर्मलाको घरमा बाक्लो आउजाउ गर्न थालेका थिए ।

एउटै समुदाय र नजिकका छिमेकी समेत रहेकोले निर्मलालाई पनि बादशाहले आडभरोसा दिन्छन् भन्ने विश्वास थियो । घरमा जाँदा बादशाहले निर्मलाका छोराहरुलाई विभिन्न खानेकुरा लगिदिन्थे ।

एउटा छोराको मृत्युलाई स्वभाविक होला भन्ने ठानेकी निर्मलाले दुई सातापछि अर्को छोराको पनि अचानक मृत्यु भएपछि भने मृत्यु नभई हत्या गरिएको हुनसक्ने आशंका गरिन् ।

कुनै रोग विमार नभई एक्कासी दुईवटा छोरा गुमाएको वियोगमा विक्षिप्त बनेकी निर्मलाले दोश्रो छोराको शवको पोष्टमार्टमपछि मात्रै दाहसंस्कार गराउनुपर्ने बताएकी थिईन् ।

तर निर्मलालाई कोठामा थुनेर बादशाहले नै पोष्टमार्टम नगरि आफूलाई मुख समेत हेर्न नदिई खेतको आलीमा दाहसंस्कार गरिदिएको अधिकारकर्मीसामु निर्मलाले बताएकी थिईन् ।

श्रीमान र दुबै छोरा गुमाएर एक्लो बनेकी निर्मलामाथि बादशाहले दुव्र्यवहार र ज्यादती गर्न थालेपछि निर्मलाले २०६६ साल माघमा महिला अधिकार मञ्च र नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रमा निवेदन दिइन् ।

निर्मलाले आफुविरुद्ध जिल्लामा सबैतिर उजुरी गर्न थालेपछि बादशाहले निर्मलालाई नियन्त्रणमा लिएर बन्धक समेत बनाएका थिए । जुन कुरा निर्मला आफैले २०६६ सालमा मानवअधिकार मञ्च बांकेका अधिकारकर्मी सामु बताएकी थिईन् ।

आफ्नो जमिन हडप्नकै लागि बादशाहले आफूलाई नियन्त्रणमा लिएर कुटपिट गरेको र उनका अरु मान्छेहरुले साइकलको चेनले हानेर खुट्टामा चोट लागेको कुरा निर्मला आफैले भिडियोमै बोलेकी थिईन् ।

बादशाहले आफूमाथि पटक–पटक कुटपिट र ज्यादती गरेको भन्दै निर्मलाले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि जाहेरी दर्ता भएन । सोहि क्रममा २०७५ साल माघ २५ गतेदेखि निर्मला अचानक वेपत्ता भएपछि उनको खोजि तथा न्यायको लागि महिला अधिकार मञ्चले आन्दोलन र आवाज उठाईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?