बुटवल । मन्त्री बन्न नपाएपछि लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका छन् ।
मन्त्री पद नपाउँदाको असन्तुष्टिका कारण राजीनामा दिएपनि उनले कार्यव्यस्तताका कारण पदबाट राजीनामा दिएको बताएका छन् । उनले भने, “मैले प्रमुख सचेतक नियुक्त हुँदा पनि धेरै समय दिन भ्याउँदिन भनेको थिएँ, त्यसैले राजीनामा दिएको हुँ ।”
कांग्रेसबाट तिमिल्सिनाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने तयारी थियो । तर अन्तिममा समयमा मन्त्री बन्ने सूचीबाट उनको नाम हटाइएको थियो ।
तिमिल्सेनाले गत साउन २१ गते नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएर प्रमुख सचेतकको हैसियतले प्रयोग गर्दै आएको प्रदेशसभाको लु १ झ १३०५ नम्बरको गाडी सोही दिन नै प्रदेश सभामा फिर्ता गरेका थिए ।
दल नेता चौधरी उनको राजीनामा स्वीकृत नगरी त्यही राजीनामा बोकेर काठमाडौं पुगेका छन् । तिमिल्सिना पनि काठमाडौंमै छन् ।
बर्दिया निर्वाचन क्षेत्र नं. २ (१)बाट निर्वाचित तिमिल्सिना प्रदेशमा चौधरी निकट मानिन्छन् । चौधरीले कांग्रेसलाई तिमिल्सिनाकै नेतृत्वमा सरकारमा पठाउन चाहेका थिए । तर, अन्तिम समयमा संस्थापनइतर पक्षले दुई पद मागेर अडान नछोडेपछि चौधरी आफैले केही समयका लागि तिमिल्सिनालाई मन्त्री बन्न अन्तिम समयमा रोकेका थिए ।
नेपाली कांग्रेसका तर्फबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् ।
लुम्बिनीमा मुख्यमन्त्री र मन्त्री चयनको विषयलाई लिएर एमाले संसदीय दल नेता लीला गिरी र एमालेकै प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले पनि पदबाट राजीनामा दिएका थिए । उनीहरुको पनि राजीनामा स्वीकृत भएको छैन ।

